सर्लाही समाचारदाता
सर्लाही, चैत १ गते । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गरेको छ । बिहीबार बिहानबाट बन्द भएको उद्योगले ३० लाख ५२ हजार ७९२ क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । किसानले ल्याएको सम्पूर्ण उखु सकिएपछि बिहीबार बिहानदेखि मिल बन्द गरिएको उहाँले बताउनुभयो । किसानलाई फागुन १४ सम्मको भुक्तानी गरिसकेको इन्दुशङ्करले होलीपर्व सम्पन्न भएको एक सातादेखि १० दिनभित्रमा बाँकी भुक्तानी भइसक्ने जनाएको छ । गत मङ्सिर २७ बाट उखु क्रसिङ सुरु गरेको उद्योग ९१ दिन सञ्चालन भएर बन्द भएको उखु प्रबन्धक रजकले बताउनुभयो ।
जिल्लाको महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल यसअघि नै बन्द भइसकेका छन् । एक साताअघि बन्द भएका महालक्ष्मी चिनी उद्योगले १३ लाख ८० हजार १०४ क्विन्टल र अन्नपूर्ण चिनी उद्योग धनकौलले नौ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरेका छन् ।
महालक्ष्मी र अन्नपूर्णले पनि किसानको बाँकी भुक्तानी होली सकिएलगत्तै गर्ने जनाएका छन् । सरकारले गत मङ्सिरमा यो वर्षको क्रसिङ सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये उद्योगीले प्रतिक्विन्टल ५८५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख छ ।
यस वर्ष चिनी उद्योगले उखु खरिद गरेका किसानलाई समयमै भुक्तानी दिइरहेका छन् । सरकारबाट प्राप्त हुने ७० रुपियाँ अनुदान रकमको भने टुङ्गो नरहेको किसानले बताएका छन् । पछिल्लो समय किसानले उखु खेती घटाउँदै लगेपछि चिनी मिललाई उखुको अभाव हुने गरेको छ ।