• १ चैत २०८१, शुक्रबार

अनुगमन अभावमा बढ्दै सहकारी समस्या

blog

तानसेन समाचारदाता

तानसेन, चैत १ गते । स्थानीय तहले प्रभावकारी नियमन र अनुगमन नसक्दा सहकारी संस्थामा समस्या देखिन थालेको छ । गाउँपालिका र प्रदेश सरकारमातहतमा रहेका सहकारी संस्थामा नियमित अनुगमन र नियमन हुन नसक्दा पाल्पाका दुई वटा सहकारीको समस्या बाहिर आएको छ । 

पछिल्लो आठ वर्षमा जिल्लाका अधिकांश सहकारीको प्रभावकारी नियमन हुन सकेको छैन । यसअघि डिभिजन सहकारी कार्यालयमार्फत सहकारीको दर्ता, नियमित अनुगमन, निरीक्षण हुने गरेको थियो । सहकारी डिभिजन कार्यालय खारेज भएपछि सो कार्यालयले गर्ने काम पालिकाको क्षेत्राधिकारमा परे पनि सो अनुसार काम हुन नसकेको जिल्ला सहकारी सङ्घ पाल्पाका अध्यक्ष भूपति पाण्डेयले बताउनुभयो । पाल्पामा अधिकांश सहकारी पालिकामातहत छन् । यद्यपि तिनको नियमित अनुगमन, निरीक्षण हुन नसकेको उहाँले बताउनुभयो । सहकारी संस्थालाई हेर्ने पालिकामा कर्मचारीसमेत अभाव रहेको छ । 

पाल्पामा २५० बढी सहकारी संस्था छन् । पछिल्लो समय पाल्पाको रिब्दीकोट–७ स्थित साहारा बचत तथा ऋण सहकारी संस्थाका केही पदाधिकारीले रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सो सहकारीले दुई वर्षदेखि साधारण सभा नगरेको पाइएको छ । रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले साहारा सहकारीको सम्बन्धमा छानबिन भइरहेको बताउनुभयो । 

यस्तै रम्भा गाउँपालिका–४, हुमिनस्थित लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाको झन्डै तीन करोड रकम हिनामिना भएको सार्वजनिक भएको छ । सहकारीका कर्मचारीले दुई करोड ८७ लाख रकम अपचलन गरेको सहकारीको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो समय सहकारी ऐनविपरीत सहकारीका केही पदाधिकारीले ठुलो रकम लैजाने र साँवा र ब्याज नतिर्ने क्रम बढेको बचतकर्ताको गुनासो छ । जिल्ला सदरमुकाम तानसेनकै केही सहकारीमा समेत यस्तो खालको समस्या रहेको बताइएको छ ।