• २९ फागुन २०८१, बिहिबार

कुखुरा पालनबाट मनग्य आम्दानी

blog

गुणबहादुर रोका

सुलीकोट, फागुन २९ गते । गोरखाका एक किसानले कुखरा पालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–८ का कृष्णबहादुर केसीले कुखुरा पालनबाट मासिक २ लाख ५० हजार भन्दाबढी आम्दानी गर्दै आउनुभएको हो । 

केसीले अकलामाई पशुपक्षी तथा पोल्ट्री फर्म सञ्चालन गरी व्यावसायिक कुखुरा पालन गर्दै आउनुभएको छ । जागिरे जीवनबाट अवकास लिएपछि दैनिक जीवनलाई क्रियाशिल बनाइराख्न भन्दै उहाँले व्यावसायिक कुखुरा पालन पेसा अगाल्न पुग्नुभएको हो । केसीले गएको ६ वर्ष देखि व्यावसायिक कुखुरा पालन गदै आउनुभएको छ । 

करिब ९४ लाख रुपियाँको लगानीमा उहाँले ७ रोपनी क्षेत्रफल भएको आफ्नै जग्गामा खोर निर्माण गरी लेयर्स जातको कुखुरा पालन गर्दै आएको बताउनुभयो ।

अहिले फार्मबाट दैनिक रूपमा ३६ हजार रुपियाँको कारोबार हुने गरेको केसी बताउनुहुन्छ । फार्मबाट उत्पादन भएको अण्डालाई साइजका आधारमा ग्रेडिङ गरेर बजारमा पठाउने गरेको उहाँको भनाइ छ । ‘ठुलो साइज, मझौला साइज र सानो साइजको गरी तीन ग्रेडमा उत्पादित अण्डालाई छुट्याएर सोही अनुसार दररेट निर्धारण गरी बजारमा पठाउने गरिएको छ, उहाँले भन्नुभयो, ‘अहिले बजारमा प्रतिपेटी न्युनतम १८ सयदेखि ठुलो अण्डाको २६ सय रुपियाँसम्ममा सजिलै बिक्री हुन्छ ।’

उत्पादित अण्डा बिक्रीबाट मासिक करिब ११ लाख ७८ हजार रुपियाँको कारोबार हुने गरेको केसीले जानकारी दिनुभयो । आम्दानी र खर्चको हिसाबमा मासिक २ लाख ५० हजार भन्दा बढी नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । ‘व्यावसायिक रूपमा काम गर्ने इच्छाशक्ति भए पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, उहाँले भन्नुभयो, गरेमा यहीँ सबैथोक हुन्छ र सम्भव पनि छ ।’

उहाँले ५-५ हजार कुखुरा अटाउन सक्ने क्षमताका दुई वटा खोर निर्माण गरेर कुखुरा पालन गर्दै आएको बताउनुभयो । ‘एउटा खोरमा ५ हजार कुखुरा हालेपछि त्यसले झण्डै ५ महिनापछि अण्डा दिन थाल्छ, एक लटको कुखुराले करिब २ वर्षसम्म अण्डा दिन्छ, उहाँले भन्नुभयो, बजारमा उत्पादन पठाउन खाली नहोस् भनेर एउटा खोरको कुखुराले अण्डा दिन सुरु गरेको करिब ८ महिनापछि अर्को खोरमा पनि कुखुराको चल्ला हाल्न सुरु हुन्छ ।’

‘कहिले कहिले बाहिर धेरै तनाव भयो भनेपनि फर्म छिरेपछि सबै तनाव एक पटक हराउँछ, केसीले भन्नुभयो, फार्मबाट आर्थिक आयआर्जन राम्रो मात्र भएको छैन, खोर भित्र राखिएको बाँसबाट बनाएको गुँडभरी कुखुराले अण्डा पारेको हेर्न पाएपछि तनाव भन्ने कुरा नै बिर्सिन पुग्छु ।’ अण्डा उत्पादन सुरु भएपछि दैनिक रूपमा कहिल्यै पनि पैसाको अभाव नहुने गरेको उहाँ बताउनुहुन्छ । ‘अण्डा उत्पादन हुन थालेपछि पैसा कमाउने पेसा भनेको यहीँ मात्र रहेछ भन्ने जस्तो लाग्छ, केसीले भन्नुभयो, "बजारमा पुगेपछि पैसा आइहल्छ, बरू बजार भाउमा भने अहिले केही कमी आएको छ ।"

पछिल्लो पटक आफ्नो फर्ममा दैनिक ३ हजार भन्दाबढी अण्डा उत्पादन गरेर बिक्री गरेको उहाँको भनाइ छ । उत्पादित अण्डा बिक्रीका लागि बजारको कुनै समस्या नभएको केसीले बताउनुभयो । "उत्पादित अण्डा स्थानीय सप्लायर्स मार्फत बजारमा पठाउने गरिएको छ", उहाँले भन्नुभयो, "दैनिक ३८ हजार रुपैयाको कारोबार हुन्छ ।" 

व्यवसाय सञ्चालनसँगै परिवारका ४ सदस्य बाहेक थप ३ जनालाई रोजगारी समेत दिन सकेकोमा उहाँ दङ्ग हुनुहुन्छ ।