• २९ फागुन २०८१, बिहिबार

एभरेस्ट चिनी मिलकाे क्रसिङ सम्पन्न

blog

तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन २९ गते । उखु अभाव र मौसमी प्रतिकुलताको सामना गर्दै रामनगरस्थित एभरेस्ट चिनी मिलले यस वर्षको क्रसिङ सम्पन्न गरेको छ । एभरेष्टले बिहीबार (आज) बिहानैदेखि चालु सत्र (०८१-८२) को क्रसिङ सम्पन्न गरेको जनाएको छ । 

यो पटक मिल सञ्चालन भएको ९२ दिनपछि बन्द भएको हो । यसबिच ६ दिन ‘नो केन’ र २ दिन सरसफाइका लागि काम रोकिँदा खुद क्रसिङ भने ८४ दिन मात्र हुन सक्यो । यसमा पनि पटकपटक उखु अभाव हुँदा २५ दिन क्षमता घटाएर क्रसिङ गर्नु परेको एभरेस्टले जनाएको छ । 

उद्योगका वित्तिय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यसपटक न्यूनतम ३५ लाख क्विन्टल उखु क्रसिङ गरि तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्यसहित मंसिर २६ गतेदेखि क्रसिङ सुरु भएको थियो । प्रयाप्त उखु नपाउँदा ३१ लाख ३ हजार ५१ क्विन्टल मात्र उखु क्रसिङ गर्न सकिएको उहाँले बताउनुभयो । यो परिणाम लक्ष्यको करिब ४ लाख क्विन्टलले घटी हो ।

यो वर्ष (०८१-८२) चिनीको ‘रिकभरी’ सरदर साढे ८ देखि ९ प्रतिशत रहेको छ । अहिले उखुका रस चिनी बन्ने प्रकृयामा रहेकाले ५ दिनपछि मात्र चिनी उत्पादनबारे जानकारी हुने एभरेस्टले जनाएको छ । खरिद गरिएका उखुमध्ये फागुन २५ गतेसम्म ३० ला ८० हजार क्विन्टल उखुको १ अर्ब ७० करोड ५४ हजार रुपियाँ किसानको खातामार्फत भुक्तानी गरिएको वित्तिय महाप्रबन्धक ठाकुरले बताउनुभयो। पछि आएका उखुको पनि यसै साताभित्र भुक्तानी गरिने उहाको भनाइ छ । 

गत वर्षदेखि एभरेस्टले ५ दिनभित्रै उखुको भुक्तानी दिन थालेकोले मिलप्रति किासनको भरोसा बढे पनि समुचित मूल्य नपाउँदा उखु किसान भने निरास देखिएका छन् । किसानले उखुको उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ७५० रुपियाँ कायम गर्नुपर्ने माग गर्दै आएका छन् । सरकाले भने कारखानाले दिँदै आएको साविक ५४० रुपियाँमा २० रुपियाँ मात्र वृद्धि गरि प्रति क्विन्टल ५६० रुपियाँ तोकेको छ । यो मूल्यप्रति किसान असन्तुष्ट छन् । 

यो नैरास्यताको असर आगामी वर्षको उखु खेतीमा पर्ने हुदा उखु अभाव तत्कालै समाधान हुने सङ्केत देखा नपरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले जनाउनुभयो । 

गत वर्ष (०८०-८१) मा एभरेस्टले २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरी २ लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो ।