• २८ फागुन २०८१, बुधबार

आफ्नै भवनबाट सेवा दिँदै फुङ्लिङ नगरपालिका

blog

फुङ्लिङ नगरपालिका–६ को नवनिर्मित कार्यालय भवन । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २८ गते ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–६ ले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वडा नम्बर ६ ले बिहीबारे काउले टोलमा निर्माण गरिएको आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।

वडाध्यक्ष मदन गुरुङ (तेज) ले मङ्गलाबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको जानकारी दिनुभयो । वडाको कार्यालय अर्थात् प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै सेवा सुरु गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेपछि वडावासी सेवाग्राहीले थप राहतको महसुस गरेका गुरुङको भनाइ छ ।

वडा कार्यालय भवन ममता कन्स्ट्रक्सनले कुल ८३ लाख ८६ हजार १७९ रुपियाँको लागतमा निर्माण गरेको हो । नवनिर्मित दुई तले भवनमा वडाध्यक्षको कार्यकक्ष, वडासचिव र प्राविधिकाको छुट्टाछुट्टै कार्य कक्षसमेत सात वटा कोठा रहेका छन् । अन्य कोठाहरूमा सभा कक्ष, भण्डारण कक्ष र भान्सा कोठा रहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसअघि घर भाडामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।