• १२ साउन २०८१, शनिबार

सार्वजनिक संस्थान

बाइस अर्बले घट्यो नाफा

blog

काठमाडौँ, जेठ १८ गते  । सरकारी स्वामित्वमा सञ्चालन भएका सार्वजनिक संस्थानको खुद नाफा २२ अर्बले घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४८ अर्ब ८९ करोड १६ लाख रुपियाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७७/७८ मा २२ अर्बले घटेर २६ अर्ब ३५ करोड ८८ लाख रुपियाँमा झरेको हो । 

क्षेत्रगत संस्थानहरूमध्ये व्यापारिक क्षेत्र आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ९९ करोड ३१ लाख रुपियाँ खुद नाफामा रहेकोमा यो वर्ष ३७ करोड नोक्सानमा रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २२ वटा मात्रै नाफामा १९ वटा संस्थान घाटामा छन् । नीतिगत तथा व्यवस्थापकीय कमजोरीले धेरै संस्थान घाटामा गएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा उल्लेख छ । 

अघिल्लो वर्ष १२ अर्ब ८७ करोड खुद नाफामा रहेको नेपाल आयल निगम आर्थिक वर्ष २०७७/७८ मा ४३ करोड नोक्सानमा रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै जनउपयोगअन्तर्गत नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीको आठ अर्ब नाफा घटेको प्रतिवेदनमा उल्लेख छ । 

क्षेत्रगत रूपमा विश्लेषण गर्दा जनउपयोग क्षेत्रमा ५५ अर्ब २५ करोड तीन लाख रुपियाँ, व्यापारिक क्षेत्रमा १८ अर्ब ९५ करोड ९२ लाख रुपियाँ, वित्तीय क्षेत्रमा ३३ अर्ब ७२ करोड ८३ लाख रुपियाँ र सेवा क्षेत्रमा पाँच अर्ब ६२ करोड ८१ लाख रुपियाँ सञ्चित नाफा रहेको छ । यस्तै औद्यौगिक क्षेत्रमा १९ अर्ब दुई करोड ६३ लाख रुपियाँ र सामाजिक क्षेत्रमा तीन अर्ब ७६ करोड तीन लाख रुपियाँ सञ्चित नोक्सान रहेको प्रतिवेदनमा उल्लेख छ । 

पूर्वसचिव एवं सार्वजनिक संस्थान बोर्डका पूर्वप्रमुख विमल वाग्लेले व्यवस्थापन कमजोरीका कारण सार्वजनिक संस्थान घाटामा गएको बताउनुुभयो । व्यवस्थापन कमजोरीका कारण संस्थानमा सरकारी लगानी बढ्दै गए पनि त्यसको प्रतिफल आउने नसकेको उहाँले जानकारी दिनुुभयो । 

आर्थिक वर्ष २०७६/०७७ मा सार्वजनिक संस्थानमा पाँच खर्ब १९ अर्ब ५५ करोड रुपियाँ लगानी भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा सरकारी लगानी ९.१८ प्रतिशत बढेर पाँच खर्ब ६७ अर्ब २८ करोड रुपियाँ पुग्यो । तर, यस अवधिमा समग्र खुद नाफा ४५.४३ प्रतिशत घटेर २६ अर्ब ३५ करोड रुपियाँमा झरेको छ । २०७६/०७७ मा समग्र खुद नाफा ४८ अर्ब २९ करोड रुपियाँ थियो ।

औद्यौगिक संस्थान घाटामा

औद्योगिक क्षेत्रका धेरैजसो संस्थान घाटामा छन् । दुग्ध विकास संस्थान, हेटौँडा सिमेन्ट, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट, नेपाल ओरिएन्ट म्याग्नेसाइट, बुटवल धागो कम्पनी, नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास, जनकपुर चुरोट कारखाना करोडौँको घाटामा छन् ।

व्यापारिक क्षेत्रका चारमध्ये तीन संस्थान घाटामै छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको घाटा पाँच करोड ३५ लाख र कृषि सामग्री कम्पनी लिमिटेडले भने १२ करोड २४ लाख रुपियाँ र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी भने एक करोड ९१ लाख रुपियाँ नाफामा छ । 

त्यस्तै नेपाल रेल–वे कम्पनी लिमिटेड एक करोड ६५ लाख रुपियाँ र नेपाल पूर्वाधार निर्माण कम्पनी ५४ लाख रुपियाँ घाटामा रहेको उल्लेख छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड पाँच लाख रुपियाँ, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी सात करोड ६७ लाख रुपियाँ, साझा यातायात सहकारी संस्था १४ करोड ३७ लाख र विशाल बजार कम्पनीले १२ करोड ८९ लाख नाफा गरेको उल्लेख छ ।

सरकारको स्वामत्विमा ४४ वटा सार्वजनकि संस्थान छन् । औद्योगिक क्षेत्रका १०, जनउपयोगी पाँच, व्यापारिक पाँच, वित्तीय नौ, सामाजिक नौ र सेवा क्षेत्रका १० वटा संस्थान छन ।  

२४ वटा संस्थानले ५३ अर्ब ९२ करोड ९६ लाख रूपियाँ खुद नाफा आर्जन गरेका थिए । १८ वटा संस्थानको खुद नोक्सानी पाँच अर्ब ६३ करोड १४ लाख रुपियाँ रहेको छ । ४४ सार्वजनकि संस्थानमध्ये ३८ वटा मात्र सञ्चालनमा छन् । जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेड, नेसनल कन्स्ट्रक्सन कम्पनी नेपाल, नेपाल ओरिएन्ट म्याग्नेसाइट प्राली कानुनी रूपमा अस्तित्वमा रहे पनि ती संस्थानले अहिले कुनै व्यावसायिक कारोबार गरेका छैनन् । 


पाँच संस्थान नाफामा

आर्थिक वर्ष २०७७/७८ मा बढी खुद मुनाफा आर्जन गर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सात अर्ब १२ करोड ९४ लाख रुपियाँ, नेपाल विद्युत् प्राधिकरण छ अर्ब नौ करोड ९४ लाख रुपियाँ, कृषि विकास बैङ्क तीन अर्ब ५२ करोड ७५ लाख, राष्ट्रिय वाणिज्य बैङ्क तीन अर्ब ४२ करोड ३६ लाख र नेपाल बैङ्कको दुई अर्ब ९६ करोड १२ लाख रुपियाँ मुनाफा आर्जन गरेका छन् ।


Author

लक्ष्मी सापकोटा