• २० चैत २०८१, बुधबार

बजार अनुगमन अब गाउँमा पनि

blog

चन्द्रकोटमा बरामद गरिएको खाद्य सामग्री नष्ट गरिँदै । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, फागुन २५ गते । गुल्मीमा पहिले सहर बजार मात्रै केन्द्रित हुने गरेको बजार अनुगमन अहिले ग्रामीणस्तरमा पनि हुन थालेको छ । 

गाउँमा कमजोर अनुगमनको फाइदा उठाउँदै सहरबाट म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तुहरू गाउँमा पठाउने गरेको गुनासो बढ्दै आएपछि अनुगमन थालिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ । कार्यालयले चन्द्रकोटको शान्तिपुर बजार र मुसीकोटको वामिटक्सारमा बजार अनुगमन गरेको छ । 

अनुगमनका क्रममा किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल तथा होटेलहरूमा अनुगमन गरिएको थियो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्रीवितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो । 

बजार अनुगमनमा १३६ वटा पसलमा अनुगमन गरिएको र केही पसललाई सुधारका लागि लिखित निर्देशन दिँदै आगामी दिनमा सुधार नदेखिएमा जरिबाना गर्ने गरी सचेत गराइएको अर्यालले बताउनुभयो ।

अनुगमनका क्रममा व्यापारीहरूले व्यवसाय दर्ता, नवीकरण, मूल्यसूची र बिलजस्ता कुराहरू लागु नगरेको पाइएकाले त्यस्ता व्यवसायीलाई प्रचलित कानुनले निर्धारण गरेका आवश्यक कागजात चुस्तदुरुस्त राख्न र आवश्यक सुधारका लागि सुझाव दिइएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा एक लाख २८ हजार बराबरको म्याद गुज्रेका खाद्यवस्तुहरू बरामद गरेर नष्ट गरिएको छ । 

पहिलो चरणमा सचेत गराइएको बताउँदै स्वास्थ्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएकाले आगामी दिनमा त्यस्तो पाइएमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने अर्यालले चेतावनीसमेत दिनुभएको छ । 

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गुल्मी, भेटेरिनरी कार्यालय गुल्मी, जिल्ला स्वास्थ्य कार्यालय गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी, उद्योग वाणिज्य सङ्घ शाखा कार्यालयका अधिकारीलगायतको सहभागिता थियो ।