• १४ पुस २०८२, सोमबार

भवन टालटुल गरेर सेवा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १४ गते । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका प्रशासनिक भवनको कतै टालटुल त कतै भाडाकै घरबाट स्थानीय तहको सेवा प्रवाह भइरहेको छ । 

आन्दोलनका क्रममा ७५३ स्थानीय तहमध्ये १७४ वटा स्थानीय तहका प्रशासनिक भवनमा आगजनी र तोडफोड भएको थियो । प्रशासनिक भवन र तिनका वडा कार्यालयमा आगजनी र तोडफोडले महत्वपूर्ण दस्ताबेज, भौतिक सामग्री नष्ट भएपछि जन्मदर्ता, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ दर्ता जस्ता अत्यावश्यक कार्य प्रभावित भएका थिए । 

हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले जेनजी आन्दोलनका क्रममा उपमहानगरपालिकाको प्रशासनिक भवन पूर्णतः क्षति पुगेपछि अहिले सोही भवनलाई सामान्य मर्मत र टालटुल गरेर सेवा प्रवाह भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ भवन बनाउन फेरि प्रक्रिया सुरु गर्दा करिब दुई वर्ष लाग्छ, मोटो रकमसमेत खर्च हुने भएकाले अहिले साबिककै भवनलाई मर्मत गरेरै सेवा नियमित गरेका छौँ ।” 

जेनजी आन्दोलनका क्रममा सात वटा प्रदेशमध्ये सबैभन्दा बढी ५७ वटा मधेश प्रदेशका स्थानीय तहका प्रशासनिक भवनमा तोडफोड र आगजनी भएको थियो । त्यसपछि क्रमशः कोशी प्रदेशमा ३८, बागमतीमा २६, लुम्बिनीमा २५, सुदूरपश्चिममा १४, गण्डकीमा आठ, कर्णाली प्रदेशका छ वटा स्थानीय तहका प्रशासनिक भवन तोडफोड र आगजनीमा परेको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएका छन् । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले क्षतिग्रस्त भवनको माथिल्लो तलाको एउटा बैठक कक्ष पूर्ण रूपमा क्षति हुनबाट बचेकाले सोही कक्षलाई पुनः रङरोगन गरी एउटै कक्षमा सबै कर्मचारी बसेर सेवाग्राहीलाई सेवा दिँदै आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “क्षतिग्रस्त भवनलाई मर्मत नगरी सो भवनबाट सेवा प्रवाह गर्न नसकिने भएकाले भवन मर्मत गर्न नगर सभाबाट बजेट विनियोजन भइसकेको छ । अब टेन्डर प्रक्रिया सुरु हुन्छ ।” 

करिब एक महिनासम्म त उपमहानगरपालिकाले पाल टाँगेर सेवा प्रदान गरेको थियो । एउटै हलबाट सेवा प्रदान गर्दा कर्मचारी र जनप्रतिनिधिलाई असहज भए पनि सेवाग्राहीलाई भने असहज महसुस नहुने गरी सेवा प्रवाह भइरहेको विष्टले स्पष्ट पार्नुभयो । 

काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा क्षति पुगेकाले भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ । नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले नगरपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा जलेकाले नगरपालिकाले भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेको बताउनुभयो । क्षतिग्रस्त भवनलाई पूर्ण रूपमै नयाँ बनाउनुपर्ने भएकाले तत्काल नयाँ प्रशासनिक भवन बनाउन सकिने सम्भावना नभएको नगरपालिकाले जनाएको छ । 

प्रशासनिक भवन जस्तै कतिपय स्थानीय तहका वडा कार्यालयमा पनि क्षति पुगेकाले क्षति पुगेका स्थानीय तहका वडा कार्यालयले मर्मत गरेर सेवा दिएका छन् भने कतिपय स्थानीय तहले भने भाडाको भवनबाट सेवा प्रदान गर्दै आएका छन् ।