गोरखापत्र समाचारदाता
ललितपुर, पुस १४ गते । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः काबारहीमा परेका नेता कार्यकर्ताको बाँकी अवधि माफी मिनाहा गरेको छ ।
पार्टीका तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा कार्यसमितिलाई आइतबार परिपत्र गर्दै कारबाहीमा परेका सबै नेता कार्यकर्ताको कारबाही फुकुवा भएको जानकारी दिनुभएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पुस १२ गते बसेको बैठकले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीभित्र बृहत् एकता कायम सबैको कारबाही मिनाहा गर्ने निर्णय गरेको थियो । पत्रमा विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, उम्मेदवारका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीत काम गरेकाको क्रियाशील सदस्यता निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको जानकारी दिइएको छ ।
यसै गरी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आइतबार पनि फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि समानुपतिक उम्मेदवारको सूची तयार गर्न छलफल भएको छ ।
प्रवक्ता डा. प्रकाशशरण महतले ११० जना समानुपातिक उम्मेदवारको सूची तयार पारेर निर्वाचन आयोगमा सोमबार बुझाइने बताउनुभयो । उहाँका अनुसार यसअघि समानुपातिकबाट सांसद भएका नेता नदोहोरिने गरी सूची बनाइने छ ।