• १३ वैशाख २०८२, शनिबार

‘एकतिस अर्बको बजेट बनाउनु मेरो बाध्यता थियो’

blog

कार्यक्रममा उपस्थित मुख्यमन्त्री कमलबहादुर शाहसहित सभामुख र मन्त्री ।

धनगढी समाचारदाता

धनगढी, फागुन २४ गते  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षका लागि बाध्य भएर आफूले ३१ अर्ब ६० करोडको बजेट बनाएको बताउनुभएको छ । ‘समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणमा प्रदेश सभाका सदस्यको भूमिका’ विषयक बिहीबारदेखि सुरु भएको अन्तव्रिर्mया कार्यक्रमलाई शुव्रmबार समापन गर्नुहुँदै उहाँले असारमै यो बजेट आफ्नो जिम्मेवारीमा आएको भए २८ अर्बभन्दा माथि जान दिने थिएन तर बाध्य भएर ३१ अर्ब ६० करोडको बजेट बनाएको बताउनुभयो । 

चालु आवमा प्रदेश सरकारले दुई चोटि बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रस्तुत गरेको बजेट सरकार अल्मपतमा परेका कारण पारित हुन सकेन । सोडारी नेतृत्वको सरकार विघटनपछि शाहको नेतृत्वमा गठित सरकारले प्रदेशका लागि असोजमा दोस्रो बजेट ल्याएको थियो । कार्यक्रममा मुख्यमन्त्री शाहले बजेटमाथि भएका संवाद, विवादको समाधानबारे सामूहिक छलफल गर्न आवश्यक रहेको बताउँदै चालु आवको बजेटमा प्रदेश सरकारले केही सुधारको प्रयास गरेको बताउनुभयो । 

प्रदेश सरकारको सैद्धान्तिक, कानुनी र व्यावहारिक पाटोहरू रहेको भन्दै मुख्यमन्त्री शाहले यी तिनै तहविच तादात्म्य कहाँनिर हुन सक्छ भनी विषयमा छलफल गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा धेरै व्यावहारिक पाटा छन् । ऐन, नियम, कानुनका धेरै समस्या, उल्झन छन् । सैद्धान्तिक आधारका धेरै कुरा छन् । फरक फरक विचारधारा र सैद्धान्तिक आधार भए पनि हामी दलहरूबिच एउटै आधार खडा गरेर अगाडि बढ्नुपर्ने परिस्थिति छ ।”

आगामी आव २०८२/८३ को बजेट निर्माणमा सरकार जुटिसकेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री शाहले आफू नेतृत्वकै सरकारले बजेट निर्माण गर्ने बताउनुभयो । सङ्घीय गठबन्धन सरकार जुन मितिसम्म अगाडि बढ्छ आफू नेतृत्वको प्रदेश सरकार पनि त्यही मितिसम्म रहने उहाँको भनाइ थियो । “त्यसैले आगामी बजेट पनि अहिलेकै सरकारले निर्माण गर्छ । यसमा कुनै कन्फ्युजन र द्विविधामा नपर्न म सबै माननीयज्यूलाई आग्रह गर्दछु,” उहाँले भन्नुभयो । विगतमा उठ्ने गरेका कुरा र थप गर्न सकिने कुरामा सबैले ध्यान दिन आवश्यक रहेको मुख्यमन्त्री शाहले उल्लेख गर्नुभयो । 

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रतिष्ठान प्रशिक्षण डोटीको आयोजनामा कैलालीको गोदावरी नगरपालिकामा कार्यव्रmम भएको थियो । कार्यक्रममा सरकारका पदाधिकारीसहित सभामुख, प्रदेश सभा सदस्य, नीति तथा योजना आयोगका सदस्य, मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।