• १९ चैत २०८१, मङ्गलबार

उच्च पहाडमा म्याराथन हुँदै

blog

म्याराथन प्रतियोगिता गर्न लागेको फालेलुङ ४ स्थित उच्च पहाडी क्षेत्रको पदमार्ग । तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन २३ गते । पाँचथर जिल्लामा हालसम्मकै लामो दुरी र सर्वाधिक पुरस्कार राशीको म्याराथन आयोजना गर्न लागिएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि परिवर्तन” भन्ने नारासहित परिवर्तन सङ्घ फालेलुङको आयोजनामा चैत १६ गते ४४ किलोमिटर लामो पुरुष म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

समुद्री सतहदेखि दुई हजार २ सय मिटर उचाईमा रहेको फालेलुङ ३ नाम्लुवा भन्ज्याङदेखि सुरु हुने दौड तीन हजार दुई सय मिटर उचाइमा अवस्थित फालेलुङ ४ को फालौट (गोर्खेपानी)मा अवस्थित बोर्डर आउट पोस्ट पुगेर पुनः नाम्लुवा भञ्ज्याङमै आइपुगेपछि टुंगिने आयोजक परिवर्तन संभ फालेलुङका अध्यक्ष रावण राईले जानकारी दिनुभयो ।

यसरी नाम्लुवा भन्ज्याङदेखि गोर्खेपानी पुगेर फर्किदा धावकले ४४ किलोमिटरको दुरी पार गरेका हुनेछन् । साहसिक खेल मार्फत पर्यटन प्रवर्धन गर्नुका साथै युवालाई लागु औषध दुव्र्यसनबाट टाढा रहनुपर्छ भन्ने सन्देश दिन यत्तिका उचाइमा म्याराथन प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगिताका विजेतालाई ५५ हजार ५ सय ५५, दोस्रो हुनेलाई २७ हजार २ सय २७ र तेस्रो हुनेलाई १२ हजार २ सय १२ रुपियाँ नगदसहित पुरस्कृत गर्ने आयोजकको तयारी छ ।

परिवर्तन सङ्घको आयोजनामा सम्पन्न हुने प्रतियोगितामा हेभन्ली निर्माण पाथले सह आयोजकको भूमिका निर्वाह गर्ने बताइएको छ । यो प्रतियोगिता जिल्लामा आयोजना हुने म्याराथन मध्येकै लामो दुरी र सर्वाधिक पुरस्कार राशीको हो ।