• १४ पुस २०८२, सोमबार

अलैँची खेतीतर्फ किसान आकर्षित

blog

गोरखाको सिरानचोक गाउँपालिका –२ मा रहेको अलैँची बगैँँचा । तस्बिरः गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, पुस १४ गते । गोरखाको सिरानचोक गाउँपालिका–२ का किसानहरू पछिल्लो समय अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुदाँ बैकल्पिक नगदेबालीको खोजीमा रहेका किसान अलैँची खेतीलाई दीर्घकालीन र फाइदाजनक विकल्पको रूपमा अपनाउन थालेका हुन् । 

सिरानचोक गाउँपालिकाको हावापानी, उचाई र अलैँची खेतीका लागि माटो उपयुक्त भएकाले पछिल्ला केही वर्षयता यसको विस्तार हुँदै गएको सिरानचोक गाउँपालिकाले जनाएको छ । सुरुमा सीमित किसानले परीक्षणका रूपमा लगाएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानहरू पनि यसतर्फ प्रेरित भएका हुन् । 

अहिले सिरानचोक गाउँपालिकाका विभिन्न वडामा गरी सयौं रोपनी जमिनमा अलैँची खेती विस्तार भइसकेको सिरानचोक गाउँपालिका–२ का अलैँची किसान डोलबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार अलैँची खेतीमा एक पटक बिरुवा रोपेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले पनि श्रम र लागत तुलनात्मक रूपमा कम लाग्छ । 

बजारमा यसको माग र मूल्य दुबै राम्रो रहेकाले आम्दानीको स्रोत पनि बलियो बनेको छ । पहिले विदेशको रोजगारी वा अन्य पेसातर्फ आकर्षित भएका केही युवा पनि गाउँमै बसेर अलैँची खेती गर्न थालेको सिरानचोकका किसानहरूले बताएका छन् ।

सिरानचोक गाउँपालिका–२ का किसानलाई गाउँपालिका तथा कृषि शाखाबाट प्राविधिक सहयोग, तालिम र केही अनुदानसमेत उपलब्ध हुँदै आएको छ । रोग नियन्त्रण, नर्सरी  व्यवस्थापन र आधुनिक खेती प्रविधिबारे जानकारी पाएपछि उत्पादनमा सुधार आएको किसानहरूको भनाइ छ । 

उत्पादन प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्नसके सिरानचोक–२ का किसानको जीवनस्तर उकास्न अलैँची खेतीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसरी अलैँची खेतीले सिरानचोकका किसानलाई आत्मनिर्भर बनाउँदै आर्थिक सम्बृद्धितर्फ डोर्‍याउने आशा गरेका छन् ।