• १३ वैशाख २०८२, शनिबार

नगरप्रमुख र कार्यपालिका सदस्यबिच विवाद, कार्यकक्षमा ताला

blog

टीकापुर नगरपालिकाको प्रशासकीय भवन र ताला लगाएको प्रमुखको कार्यकक्ष । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, फागुन २३ गते । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू र कार्यपालिका सदस्यहरूबिच फेरि विवाद सुरु भएको छ । 

फागुन २२ गते नगर प्रमुखले पत्रकार सम्मेलन गरी नगर प्रमुख रामलाल डगौरा थारू कार्यपालिका सदस्यहरूले विकासका काममा सहयोग नगरेको बताउनुभएको थियो । फागुन २३ गते (आज) कार्यपालिका सदस्यहरूले नगर प्रमुख विधिमा नचलेको, कार्यपालिका सदस्यहरू असहमत भएका प्रस्तावहरू पनि निर्णय लेखेर प्रमाणित गर्ने गरेको भनी पत्रकार सम्मेलन गरेका छन् भने नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा ताला लगाएका हुन् ।

पत्रकार सम्मेलनपछि माइन्यूटका असहमति लेख्न आउनुभएका कार्यपालिका सदस्यहरूले माइन्यूट नपाएपछि नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखामा ताला लगाइदिएका नगर प्रमुखका स्वकीय सचिव लोकबहादुर बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार नगर प्रमुख थारू यतिबेला काठमाडौँमा हुनुहुन्छ भने मन्त्रालयले काजमा पठाएका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरी कार्यालय पुगिसक्नु भएको छैन । 

यसअघि काम गर्दै आउनुभएका शिक्षा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले यस विषयमा बोल्न चाहनुभएन । 

अनुगमन समितिका सदस्य फिर्ता

टीकापुर नगरपालिका नगर कार्यपालिकाको २०८१ माघ २९ गते बसेको ४७ औं कार्यपालिका बैठकले २०७९ जेठ २३ गतेको पहिलो कार्यपालिका बैठकले चयन गरेका सदस्यहरू दीपक निसानी र राजरानी चौधरीलाई फिर्ता बोलाई, वडा नम्बर ९ का वडाध्यक्ष लौटन चौधरी र कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई अनुगमन तथा सुपरिवेक्षण समितिमा पठाउने निर्णयले विवाद ल्याएको छ । 

कार्यपालिका १२ जना सदस्यहरूले फागुन १९ गते नगर प्रमुखको स्वेच्छाचारी गतिविधिको प्रेस विज्ञप्ति मार्फत विरोध गर्ने र निर्णय फिर्ता गराउने निर्णय गरेका थिए । यो कुरा थाहा पाएपछि नगर प्रमुख रामलाल डगौरा थारूले फागुन २२ गते पत्रकार सम्मेलन गरी कार्यपालिका सदस्यहरूले काम गर्न नदिएको र विकास विरोधी भएको बताउनुभएको थियो । 

यस्तै, नगरप्रमुखले गरेको निर्णय र कार्यपालिका सदस्यहरूका विषयमा पत्रकार सम्मेलन गरेपछि चिढिएका कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन गरी विधि विपरित काम गर्दा टीकापुर नगरपालिकाको सुशासन, कार्यसम्पादन मुल्याङ्कन घटेको, कार्यपालिका, नगर सभाको मर्यादा राख्न नसकेको जानकारी दिएका छन् । 

‘कार्यपालिका र सभाले बनाएका समितिलाई निष्क्रिय बनाउने, मनपरी नियुक्त गर्ने हटाउने कठपुतली बनाउने कार्य, नगरसभाले पास गरेका आयोजनाहरू मनलाग्दी संशोधन गर्नु र बजेटको सुनिश्चितता नभई आन्तरिक स्रोत भन्दै अनुत्पादन शीर्षकमा बजेट विनियोजन गर्नु, आन्तरिक आम्दानीका स्रोतहरूको समयमा प्रक्रिया अगाडि नबढाई प्रयाप्त आन्तरिक आय नहुनु, सोह्रौं नगरसभाबाट बजेटको सुनिश्चितता नै नभई आयोजनाहरू छनोट गर्न लगाई सभाबाट पास भएका आयोजनाहरू कार्यान्वयन नगर्नु विकास विरोधी काम हो,’ कार्यपालिका सदस्यहरूले जारी विज्ञप्तीमा भनिएको छ, ‘हामी विकास विरोधी होइनौ विधिमा चल्नुपर्छ भनिरहेका छौं र टीकापुरको विकास होस भन्नेमा हामी धेरै चिन्तित छौं ।’

टीकापुर नगरपालिकाका उपप्रमुख हाल निलम्बनमा हुनुहुन्छ । कार्यपालिका सदस्यहरूले बेलाबेला विधि विपरित काम भएको भन्दै नगर प्रमुखका काममा असहमति जनाउने गरेका छन् । नगर प्रमुख थारूले केही दिन अघि पार्टीले अवरोध गरे पार्टी नै त्याग्न तयार भएको बताउनुभएको थियो । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित नगर प्रमुख थारूका कामको सोही पार्टीका कार्यपालिका सदस्यहरूले समेत आलोचना गर्ने गरेका छन् ।