• २२ फागुन २०८१, बिहिबार

फाप्लु विमानस्थलको रिफ्यूलिङ सेन्टर निर्माण अन्तिम चरणमा

blog

निगमको प्राविधिक टोलीले फाप्लु विमानस्थलको स्थलगत निरीक्षण गर्दै । तस्बिरः गार्डेन राई

गार्डेन राई

सोलु, फागुन २२ गते । फाप्लु विमानस्थलमा रिफ्यूलिङ सेन्टर स्थापना अन्तिम चरणमा पुगेको छ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा पर्यटकीय मौसममा फाप्लु विमानस्थलबाट नियमित हवाई उडान गर्न नेपाल आयल निगमको रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य अगाडि बढेको हो ।

निगमको प्राविधिक टोलीले आज बिहीबार फाप्लु विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा नेपाल सरकारका रक्षामन्त्री मानवीर राईका प्रमुख स्वकीयसचिव बच्चुनारायण श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, नेकपा (एमाले) सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला लगायतले फाप्लुमा रिफ्युलिङ्ग सेन्टर सञ्चालनका लागि सबै क्षेत्रबाट पहल गरिने बताउनुभयो।

संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा पहिचान स्थापित गरेको सगरमाथा क्षेत्रको पर्यटकको चापलाई मध्यनजर गरी नेपाल सरकारको रक्षामन्त्री मानवीर राईको विशेष अनुरोध र नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको समन्वयमा नेपाल आयल निगमले फाप्लु विमानस्थलमा रिफ्यूलिङ सेन्टर स्थापनाका लागि प्राविधिक टोली फाप्लु विमानस्थलको निरीक्षणका लागि खटाएको हो ।

पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्था र आन्तरिक विमान सञ्चालक कम्पनीहरू लगायत वायुसेवा सञ्चालक सङ्घ समेतको माग रहेको उक्त रिफ्यूलिङ सेन्टर स्थापना आगामी पर्यटकीय मौसम वसन्त ऋतुबाट नै गर्नका लागि सबै क्षेत्रले समन्वय गरिरहेको जानकारी नेपाल आयल निगमका प्रतिनिधि जगदीश यादवले जानकारी दिनुभयो ।

फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना भएपश्चात् हालसम्म रामेछापको मन्थली विमानस्थलबाट पर्यटनको मौसममा हुने आन्तरिक हवाई उडानमा मौसमको कारणले भइरहेको समस्या समाधान हुने मात्र हैन दूरी र खराब मौसमको कारणले गर्दा हवाई उडानमा हुने अवरोधले गर्दा लुक्ला विमानस्थलमा अड्किने ठुलो सङ्ख्याको पर्यटकलाई छोटो दूरी र समयमा फाप्लु विमानस्थलमा अवतरण गराउन सकिनेछ ।