• २२ फागुन २०८१, बिहिबार

नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब

blog

चितवन, फागुन २२ गते । भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ । आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एउटा सामान छुटेकाले थप केही समय लागेको हो । अस्पतालले यसै महिनादेखि क्याथल्याब सञ्चालन गर्ने तयारी गरेको थियो । पौडेलले भन्नुभयो, “जर्मनीबाट सामान ल्याउँदा एउटा छुटेछ । चैतमा मात्र सामान आएर काम सम्पन्न हुनेछ ।” अस्पतालको वार्षिकोत्सव चैत्र २५ गते मनाउँदै गर्दा क्याथल्याब उद्घाटन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । 

क्याथल्याब जडानका लागि उपकरणमा ११ करोड ५० लाख खर्च भएको भन्दै उहाँले भौतिक निर्माणसहित १५ करोड हाराहारी खर्च हुने मेडिकल सुपरिटेन्डेन्ट पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा मुटुको उपचारमा डिएम गरेका तीन जना चिकित्सक हुनुहुन्छ ।

अस्पतालका मुटु रोग विशेषज्ञ डा.मणि गौतमले अहिले मुटुको बहिरङ्ग (ओपिडी) सेवा, इको वार्डलगायत सेवा सञ्चालनमा रहेका जानकारी दिनुभयो । क्याथल्याब सञ्चालनमा आएसँगै ‘इन्टरभेन्सन कार्डियोलोजी’ सेवा सुरु हुनेछ । यससँगै ‘एन्जियोग्राफी’, ‘एन्जियोप्लाष्ट’, ‘पेजमेकर’ जडानलगायत सेवा दिन सकिने उहाँको भनाइ छ ।

क्याथल्याब (मुटुको नसाहरू, धमनीहरू हेर्ने काम गरिन्छ) सञ्चालनमा आएसँगै मुटुको नसामा बोसोले रोक्दा खोल्न सकिने डा गौतमले बताउनुभयो । क्रमशः मुटुसम्बन्धी उपचार सेवा थप गर्दै लैजाने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावकारी सेवाका लागि अस्पतालमा कम्तीमा आठ जना मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) आवश्यक पर्ने पर्दछ ।

भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । क्याथल्याब सञ्चालनमा आएसँगै सर्वसुलभ रूपमा यो सेवा आमनागरिकले पाउने अस्पतालले जनाएको छ । रासस