रामचन्द्र रायमाझी्
तानसेन (पाल्पा), फागुन २२ गते । जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्कोटका धनबहादुर सारु ज्याला मजदुरी गरेरै परिवारको गुजारा गर्नुहुन्थ्यो । आफूसँग भएको आधा बिघा जमिनले खान पनि नपुग्ने भएकाले उहाँ गाउँमै खेतीपाती र अन्य काममा मजदुरी गर्दै आउनुभएको थियो । त्यही मजदुरीको भरमा सारुले आठ जनाको परिवार पाल्नुभएको थियो । पर्यटकीय स्थल फोक्सिङ्कोट नजिकै बस्तीमा बसोबास गरिरहनुभएका उहाँले हाल मजदुरी गर्न छाड्नुभएको छ । केही समययता उहाँको बस्तीमा होमस्टे (घरवास पर्यटन) सञ्चालन भएपछि अर्काकोमा मजदुरी गर्नुपर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ ।
सारु मजदुरी छाडेर होमस्टेकै व्यवस्थापन र पाहुनाको स्वागतमा लाग्नुभएको छ । होमस्टेबाट राम्रै आम्दानी हुने भएपछि उहाँ उत्साहित हुनुहुन्छ । यस्तै स्थानीय रनबहादुर सारुले गाउँमै होमस्टे सञ्चालन भएपछि आफूहरुका लागि आयआर्जन पनि हुने र आफ्नो कला, संस्कृतिलाई चिनाउने अवसर मिल्ने भन्दै खुसी व्यक्त गर्नुभयो । धनबहादुर र रनबहादुर मात्र होइन, यहाँका बासिन्दा होमस्टे सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।
आफ्नो कला, संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन जनजाति समुदायका लागि एउटा अवसर हुने स्थानीय टेकबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला, संस्कृति चिनाउन पाउनेछौँ । मगर, जनजाति समुदायको पहिचानको प्रचार–प्रसार हुनेछ ।’ बाहिरका मानिसलाई आफ्नो चालचलनअनुसार जे जे खानेकुरा छ, बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउनुको साथै दुई÷चार पैसा आम्दानीको लागि होमस्टे राम्रो माध्यम बन्ने पुनको भनाइ छ । पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले केही दिन अघि गाउँपालिकाको पहलमा स्थानीयले ‘रानीबास सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याएका छन् । होमस्टे सञ्चालन भएपछि पर्यटक पनि आकर्षित हुन थालेका छन् ।
समुद्र सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको फोक्सिङ्कोट गाउँमा पुग्ने पर्यटकले रानीबास गाउँबीचमा रहेको चुर्कीथान, माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमालसँंगै अन्य हिमशृङ्खला, स्याङ्जाको गल्याङ् बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्, तानसेनको श्रीनगर, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, कालीगण्डकी नदी, राम्दीपुललगायतका मनमोहक दृश्य अवलोकन गर्न पाउनेछन् ।
होमस्टेमा बास बस्ने पर्यटकहरुले स्थानीय झाम्रे नाच, मारुनी नाच, सालैजो, कौडा, ठूलो नाच, पञ्चेबाजा कला, संस्कृतिसमेतको आनन्द लिन पाउनेछन् । होमस्टेमा आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ । कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा छ । यहाँ स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटीलगायका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिकी अध्यक्ष देउकुमारी सारुले बताउनुभयो ।
होमस्टे पुग्ने पर्यटकहरुका लागि अवलोकन गर्न जनजाति सङ्ग्रहालयसमेत निर्माण गरिएको छ । यहाँ जनजातिका परम्परागत सिप, कला, कौशलका सरसमान व्यस्थितरूपमा सजाएर राखिएका छन् । साथै, मगर समुदायको भेषभूषा, ऐतिहासिक माटो र काठले बनेका भाँडा, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचीन सामान सङ्ग्रहालयमा राखिएका छन् । परम्परागत र आधुनिक सीपकलाको मिश्रणबाट सङ्ग्रहालय भवनलाई कुडुले घरको रूपमा निर्माण गरिएको छ । भवन तथा सङ्ग्रहालय निर्माणको लागि केन्द्र सरकार पर्यटन मन्त्रालय र स्थानीय सरकारको रु. एक करोड १५ लाख खर्च भएको छ । अहिले फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर छन् । तीमध्ये १६ घरमा होमस्टे सञ्चालन गरिएको छ भने अन्य घरमा पनि विस्तार गर्ने योजना रहेको रानीबास होमस्टे सञ्चालक समितिले जनाएको छ । यहाँ रैथाने बालीको नियमित उत्पादन, परम्परागत कला, संस्कृतिको जीवन्तता, प्राकृतिक सौन्दर्य र एकै किसिमको मगर बस्ती भएका कारण नै गाउँपालिकाले होमस्टे सञ्चालनमा सक्रियता देखाएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
आफ्नै घरमा पाहुनालाई राखेर आफैंले उत्पादन गरेको वस्तुबाट बनाएको खानाको परिकार बिक्री गरी स्थानीय मानिसले आम्दानी गर्ने यो एक भरपर्दो र सजिलो माध्यम पनि हो । होमस्टेमा आउने पाहुनाले केही न केही रकम खर्च गर्दछन् । सामान्य आयस्तर भएका मानिसका लागि यो आर्थिक अवसर पनि हो । होमस्टेमा आउने पाहुनाले देख्ने दृश्य, वातावरण, संस्कृति र मानिसले गर्ने सेवासमेतको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्य तिरिरहेका हुन्छन् । यसले गर्दा पर्यटक आउँदा सहरका ठूला होटल र ठूला पर्यटन व्यवसायीले मात्र लाभ प्राप्त गर्ने होइन कि एउटा सामान्य दुर्गममा बस्ने मानिसले पनि पर्यटनको महत्व बुझ्दै आर्थिक अवसर प्राप्त गर्दछ । यसबाट सामान्य ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसले समेत पर्यटनको माध्यमबाट केही न केही आयआर्जन गर्न सक्छन् ।
होमस्टे ग्रामीण पर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार हो । ग्रामीण समुदाय अझ विशेषगरी आर्थिक तथा सामाजिक वञ्चितीकरणमा पारिएका महिला, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायलाई आर्थिक सशक्तिकरण गरेर विकासको मूलधारमा ल्याउन होमस्टेले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । त्यसैले होमस्टे स्थापना तथा प्रवर्द्धन सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सबैको चासो र प्राथमिकताको विषय भएको छ ।
नेपालमा होमस्टेको प्रचलन परम्परागत भए पनि पछिल्लो समयमा यसलाई कार्यविधि नै बनाएर व्यवस्थित गर्न खोजिएको छ । अहिले होमस्टे कार्यविधि २०६७ ले निर्देश गरेअनुरूप नै सञ्चालनमा छन् । पर्यटकलाई ग्रामीण क्षेत्रको वास्तविक अनुभूति गराउने र पर्यटनको माध्यमबाट मानिसको आयआर्जन तथा रोजगारीको अवस्थालाई दिगो विकाससँग जोडी पर्यटनमैत्री वातावरण बनाउने यस कार्यविधिको उद्देश्य रहेको छ । होमस्टेले सबै प्रकारका पाहुनाहरूलाई बस्नको लागि वैकल्पिक र किफायती ठाउँ प्रदान गर्दछ । जहाँ प्रकृति र संस्कृतिको भरपुर आनन्द लिन सकिन्छ । अहिले नेपालमा तीनै तहका सरकारले होमस्टेलाई महत्वका साथ हेरेको पाइन्छ ।
यहाँ घरवास सञ्चालनमा आएसँगै यस क्षेत्रका सांसद तथा मन्त्रीसमेतले चासो व्यक्त गरेका छन् । उनीहरुले होमस्टेको दिगो विकासका लागि आफूले आवश्यक सहयोग गर्ने बताएका छन् । यहाँका नागरिकको आम्दानीको स्रोत होमस्टे बन्न सक्ने भन्दै उनीहरुले आवश्यक भौतिक पूर्वधार निर्माणमा आफूहरुको सहयोग रहने स्थानीयसँग प्रतिबद्धता जनाएका छन् ।
पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले ग्रामीण पर्यटन विकासको लागि होमस्टे कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । होमस्टेको कारण फोक्सिङ्कोटको विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अब फोक्सिङ्कोटमा आउने मोटरबाटो स्तरोन्नति हुनेछ, पर्यटकीय पूर्वाधारहरु निर्माण हुनेछन् ।’ सङघ, प्रदेश र स्थानीय सरकार मिलेर फोक्सिङ्कोटको विकासमा अगाडि बढ्ने सांसद आचार्यले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले होमस्टे सञ्चालन हुनु राम्रो पक्ष भएकाले पाहुनाहरुलाई सन्तुष्टि गराउन सके यहाँका वासिन्दा घरमै बसीबसी आम्दानी गर्नसक्ने बताउनुभयो । ‘‘हामी सबैको चाहना गाउँलाई सुखी समृद्ध बनाउने भएकाले स्थानीय उत्पादन, स्थानीय कला, संस्कृति र प्राकृतिक अवलोकनको अभियानबाट नै गाउँमा प्रशस्त आम्दानी गर्न सकिन्छ’’ उहाँले भन्नुभयो । होमस्टे कार्यक्रमको लागि आवश्यक पर्ने पूर्वाधार, तालिम, तथा प्रचार–प्रसारमा प्रदेश सरकारको सहयोग रहने मन्त्री सारुले बताउनुभयो । उहाँले मगर समुदायको संस्कृतिको संरक्षण र स्थानीयलाई घर खर्च चलाउन होमस्टे उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।
होमस्टेलाई एउटा शुद्ध व्यापारका रूपमा मात्र नबुझेर संस्कृति, परम्परामा आधारित पर्यटन सेवा हो भन्ने होमस्टे सञ्चालक, होमस्टेमा बास बस्न आउने अतिथि पर्यटक तथा नीति निर्माताले बुझ्नुपर्छ । होमस्टे ग्रामीण पर्यटनको पूर्वाधार मात्र नभएर, समुदायको एकीकृत विकासको महत्वपूर्ण अङ्ग पनि हो । यसलाई एकीकृत विकासको अवधारणाअनुसार दीर्घकालीन सोचसाथ अगाडि बढाउन सकिएमा समुदायलाई सामाजिक र आर्थिक समृद्धिको पथमा डोर्याउन सकिन्छ । स्थानीय सामाजिक, सांस्कृतिक रहनसहन तथा वातावरणीय सम्पदालाई पर्यटन व्यवसायसँग जोडेर समुदायमा स्वरोजगारको अवसर सिर्जना गर्न र ग्रामीण अर्थतन्त्र सबलीकरण गरी देशको आर्थिक समृद्धिको अभियानमा होमस्टेले सशक्त भूमिका खेल्न सक्छ । रासस