• ११ माघ २०८१, शुक्रबार

दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो

blog

दुर्घटनामा परेको तारा एयरको ट्विनअटर ९एन एइटी विमानको ब्ल्याक बक्स । तस्विर सौजन्य: नेपाल माउन्टेन गाइड एसोसिएसन

काठमाडौं, जेठ १७ गते । आइतबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर ९एन एइटी विमानको ब्ल्याक बक्स फेला परेको छ । मंगलबार विहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्ल्याक बक्स फेला पारेको हो । 

प्रतिकूल मौसमका कारण विमान दुर्घटनामा भएको प्रारम्भिक अनुमान गरिएपनि यो बक्स फेलापरेसँगै दुर्घटना बारे थप अनुसन्धान गर्न सहज हुने भएको छ । विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्ल्याक बक्स फेला परेको माउन्टेन गाइड शाहीले जानकारी दिनुभयो । दुर्घटना कसरी भयो भन्ने विस्तृत जानकारी बक्समा रेकर्ड हुनेछ । ब्ल्याक बक्स आगलागी हुँदासमेत नजल्न प्राविधिकहरुले जनाएको छ । 

ब्ल्याक बक्स, प्राविधिक रूपमा फ्लाइट डाटा रेकर्डर भनेर चिनिन्छ, एउटा उपकरण हो जसले हवाईजहाज/विमानको उडानको क्रममा सबै गतिविधिहरू रेकर्ड गर्दछ । हवाईजहाजमा सामान्यतया दुईवटा ब्ल्याक बक्सहरू हुन्छन्, एउटा अगाडि र अर्को विमानको पछाडि । यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरी सकेको छ । आयोगका सदस्यहरूमा क्याप्टेन दीपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ  । 

नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार आइतबारको तारा एयरको सहित ६७ वर्षको इतिहासमा १०८ वटा हवाई दुर्घटना भएका छन् । यी सबै दुर्घटनामा झन्डै नौ सय जनाले ज्यान गुमाइसकेका छन् ।