• १६ फागुन २०८१, शुक्रबार

कर्णाली कोरिडोर

हुम्ला खण्डमा छ वटा पक्की पुल बन्ने

blog

हुम्ला समाचारदाता 

हुम्ला, फागुन १६ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि स्याम्नेसम्म छ वटा पक्की पुल निर्माण हुने भएका छन् । हाल यो खण्डका खोलामा यातायातका साधन खोला तरेर वारपार गर्ने भएका कारण हिल्सा–सिमकोट सडक आयोजनाले पक्की पुल निर्माण गर्ने भएको हो । 

सडकको अवस्था हेर्न सलीसल्ला पुग्नुभएका आयोजनाका योजना प्रमुख बलबहादुर नेपालीले सर्केगाड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लादेखि सिमकोट गाउँपालिका–४ को स्याम्ने खोलासम्मको ५० किलोमिटर सडकको दुरीमा पर्ने छ वटा खोलामा पक्की पुल निर्माण हुने बताउनुभयो । यी सबै खोलामा हाल पुल निर्माण नभएका कारण यातायातका साधनले खोला तरेर वारपार गरिरहेका छन् । बर्खायाममा ती खोलामा पानी बढ्ने भएका कारण तर्न पनि कठिन हुने भएकाले अब पक्की पुल निर्माण प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो । 

पक्की पुल निर्माण हुने खोलामा सिमकोट गाउँपालिकाको स्याम्नेमा ५५ मिटर लम्बाइको पुल बन्ने छ भने खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुखोलामा २२ मिटर लम्बाइको पुल निर्माण हुने छ । यता खार्पुनाथ गाउँपालिकाकै सुनाखाडा खोलामा एक सय मिटर लामो पुल निर्माण हुने छ । त्यसै गरी सर्केगाड गाउँपालिकाको गिउसीखोलामा तिस मिटर लामो पुल बन्ने छ भने ठेलीखोलामा तिस मिटरको पुल निर्माण हुने छ ।

सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाडमा ४० मिटर लामो पक्की पुल निर्माण हुने छ । सर्केगाड खोला ठुलो भएका कारण साना सवारीसाधन काठेपुल तर्दै आएका छन् । प्रमुख नेपालीले सम्भाव्यता अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने बताउनुभयो । आगामी आर्थिक वर्षमा यी छ वटै पुल निर्माणका लागि बजेटको व्यवस्था हुने र ठेक्का समेत लाग्ने निश्चित भएको उहाँले बताउनुभयो । 

कोरिडोरको यो खण्डमा सलीसल्लामा बेलिब्रिज निर्माण गरिएको छ भने खार्पुको दोजाम कर्णाली नदीमाथि पक्की पुल निर्माणाधीन अवस्थामा रहेको छ । गाडीचालक निमा लामाले नयाँ पक्की पुल बन्न लागेकोमा खुसी व्यक्त गर्दै अब यातायातका साधनलाई खोला तर्नुपर्ने बाध्यता चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । खोला तर्नाले अधिकांश यातायातका साधनको मेसिनमा समस्या आउने गरेको छ ।