लीलाराज खड्का
बिर्तामोड, फागुन १५ गते । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरा असम्भव रहेको बताउँदै यस्तो बेकारको बहसमा समय खर्च नगर्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले राजाको शासनकालमा जनताले दुःखमात्रै पाएको र अब पनि त्यो व्यवस्था स्वीकार नेपाली जनताले नगर्ने दाबी बताउनुभयो । आवश्यकताको आधारमा संविधान संशोधन हुने र देश अघि बढ्ने तर राजतन्त्रका वारेमा बहस गर्नुको कुनै तुक नरहेको नेता सिटौलाको भनाइ थियो ।
नेता सिटौलाले सबैको हित हुने व्यवस्था भनेकै लोकतान्त्रिक व्यवस्था भएको बताउनुहुँदै लोकतन्त्र देश र जनताको समृद्धिका लागि ल्याइएको शासन व्यवस्था भएको बताउनुभयो । जनताले यही सोचेर कठोर सङ्घर्षमा साथ दिएको सिटौलाले बताउनुभयो । नेपाली कांग्रेस जनसङ्घर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्था जोगाउन सक्षम पार्टी रहेको समेत उहाँले उल्लेख गर्नुभयाे ।
कांग्रेस पार्टी आफ्ना लागि नभई देश र जनताको भलाइका लागि स्थापना भएको पार्टी भएको बताउनुहुँदै सिटौलाले पार्टीमा सन्तुलन, न्याय, दण्ड र पुरस्कारको निश्पक्ष व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
सिटौलाले दमनबाट समस्या समाधान नहुने बताउँदै वार्ता र संवादका माध्यमबाट पाथीभरामा केबुलकार निर्माण विवाद समाधान गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले पाथीभरामा भएको केवलकार विवाद, संसदमा बहसमा रहेका अध्यादेशका विषयमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने धारणा राख्दै पार्टीमा वडैपिच्छे गुट–उपगुट देखिएकाले यसको अन्त्य गरिनुपर्ने माग राख्नुभएको थियो ।