• १५ फागुन २०८१, बिहिबार

राजनीतिक दलको आयव्यय : एमाले धनी कांग्रेस घाटामा

blog

काठमाडौँ, फागुन १५ गते  । राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा (एमाले) सबैभन्दा धनी दल रहेको छ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस निरन्तर दुई वर्षदेखि घाटामा गएको छ । नेकपा (माओवादी केन्द्र) को आम्दानी घटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपियाँले घाटामा गएको छ । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र सोको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम माघभित्र ८८ राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाएको छ । 

आयोगमा बुझाइएको प्रतिवेदन अनुसार नेकपा (एमाले) ले गत आवमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपियाँ आम्दानी गरेको छ । आव २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपियाँले घाटामा रहेको एमालेले यस वर्ष करिब सात करोड २८ लाख रुपियाँले बचतमा गएको छ । 

२०७९/८० मा सो दलले आठ करोड ९७ लाख २२ हजार ६५ रुपियाँ आम्दानी गरेको थियो । एमालेले सोही आवमा सात करोड ५० लाख ३८ हजार तीन रुपियाँ खर्च गरेको छ । आव २०७९/८० मा एमालेको खर्च करिब ११ करोड ६० लाख थियो । 

एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट सङ्कलित सदस्यता शुल्कबापतको हो । उसले सो शीर्षकमा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपियाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही शीर्षकबाट एमालेले एक करोड २१ लाख १६ हजार ४१८ रुपियाँ आम्दानी गरेको थियो । 

नेकपा (एकीकृत समाजवादी) ले गत आवमा चार करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ तर आम्दानीभन्दा उसले खर्च बढी गरेको छ । आयोगमा बुझाइएको प्रतिवेदन अनुसार उसले सोही आवमा चार करोड ५७ लाख ४० हजार रुपियाँ खर्च गरेको छ । २०७९/८० को मौज्दातबाट घाटा कट्टी गराएको एकीकृत समाजवादी हाल ९९ लाख ६१ हजार ५८३ रुपियाँले बचतमा छ । 

नेपाली कांग्रेस भने दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपियाँले घाटामा गएको छ । कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च चार करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ छ । 

कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग छ । उसले एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट कांग्रेसले करिब ७१ लाख जम्मा गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले आव २०८०/८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपियाँ आम्दानी गरेको छ । सो दलले २०७९/८० मा तीन करोड ४८ लाख ४१ हजार ९३ रुपियाँ आम्दानी गरेको थियो । विवरणबमोजिम नेकपा (माओवादी केन्द्र) दुई हजार ४४३ रुपियाँले बचतमा छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीको दोब्बर खर्च गरेको छ । उसले आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । छ करोड ५० लाख १७ हजार ७८ रुपियाँ उसको खर्च हो । एक करोड ६९ लाख ३० हजार ३७६ रुपियाँले घाटामा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०७९/८० मा करिब पाँच करोड ४८ लाख रुपियाँ आम्दानी गरेको थियो । 

आव २०७९/८० मा कर्जा तथा सापटीले पार्टी सञ्चालन गरेको जनमत पार्टीले यस वर्ष भने सबै सापटी र कर्जा फिर्ता गरेको छ । आव २०८०/८१ मा सो दलले एक करोड १८ लाख रुपियाँ आम्दानी गरेको छ । उसले करिब दुई करोड ९० लाख रुपियाँ सापटी तिरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आम्दानी घटेको छ । आव २०७९/८० मा करिब आठ करोड ४९ लाख आम्दानी गरेको राप्रपाले यस वर्ष मात्र एक करोड ३८ लाख ७४ हजार रुपियाँ आम्दानी गर्न सकेको हो । 

कानुनले तोकेको समयसीमाभित्र ८८ दलले मात्रै आयव्ययको विवरण बुझाएका छन् । आयोगमा आव २०८०/८१ मा ११५ दल दर्ता रहेकामा २७ दलले विवरण बुझाएनन् ।