काठमाडौँ, फागुन १४ गते । विद्यार्थी अभावका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराउने छात्रवृत्ति कोटासमेत रिक्त हुन थालेको छ ।
छात्रवृत्ति कोटामा अध्ययनका लागि मन्त्रालयले विभिन्न समयमा आवेदन माग गरेको थियो । त्यति गर्दा समेत आवश्यक सङ्ख्यामा विद्यार्थी नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सार्वजनिक आह्वान गरेर आवेदन दिन अनुरोध गर्नुभएको छ ।
कोटा रिक्त रहेको छात्रवृत्तिमध्ये अन्डर ग्य्राजुएट एमबिबिएसमा एक, पोस्ट ग्य्राजुएट इन्जिनियरिङमा सात, कृषिमा तीन र पिएचडी इन्जिनियरिङमा एक जनाको सिट रहेको छ ।
त्यस्तै भेटेरिनरीमा एक, सूचना प्रविधिमा चार, मेडिकल साइन्समा दुई र कन्जरभेसन (संरक्षण) मा एक जनाको सिट अझै खाली रहेको छ । ती सिट रिक्त रहेपछि प्रधानमन्त्री ओलीले मङ्गलबार सामाजिक सञ्जालमार्फत रिक्त सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले इमेल ठेगानासमेत उपलब्ध गराउँदै एक दुई दिनभित्रै आवेदन दिन अनुरोध गर्नुभएको छ । यी छात्रवृत्ति मित्रराष्ट्र चीन सरकारले उपलब्ध गराएको हो । पछिल्लो समय चीन सरकारले विभिन्न विषयका ७१ वटा छात्रवृत्ति कोटा उपलब्ध गराएको थियो । मन्त्रालयले ती कोटामा विद्यार्थी छनोट गरेर पठाउन आवेदन आह्वान गर्दा २१३ जनाले फाराम भरेका थिए ।
मन्त्रालयले ती विद्यार्थीको कागजपत्र अध्ययन गरेर छात्रवृत्तिमा अध्ययनका लागि ७१ जनाको नाम नेपालस्थित चिनियाँ राजदूतावासमा पठाएको थियो तर दूतावासमा पठाएका विद्यार्थीमध्ये ५१ जनाले मात्रै विश्वविद्यालयमा भर्नाका लागि अनलाइनमार्फत आवश्यक कागजपत्र बुझाएको मन्त्रालयले जनाएको छ । समयमै कागजपत्र नबुझाएपछि २० वटा कोटा रिक्त थियो । बाँकी रहेका ती सिटका लागि पुनः आवेदन दिनका लागि मन्त्रालयले माग गरेको थियो तर चीन सरकारले ढिला भइसकेकाले थप आवेदन लिन नसकिने प्रस्ट पारेको थियो । प्रधानमन्त्री ओलीले तिनै सिटका लागि आवेदन माग गर्दै पोस्ट गर्नुभएको हो ।
छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई अध्ययन शुल्क लाग्दैन भने उनीहरूका लागि बस्ने तथा खाने व्यवस्थासमेत चीन सरकारले नै उपलब्ध गराउने गरेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले रिक्त कोटामा थप विद्यार्थी पठाउने विषयमा पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा प्रधानमन्त्रीले नै चासो लिएर सार्वजनिक आह्वान गर्नु खुसीको विषय हो ।” मन्त्रालयले छनोट गरेर दूतावासमा सूची पठाएर पनि समयमै आवेदन नदिएकामध्ये केही विद्यार्थीको फेरि प्रक्रिया आरम्भ गरिएको मन्त्रालयले जनाएको छ ।