• १३ फागुन २०८१, मङ्गलबार

सहिद परिवारसँग भेटघाटमा अध्यक्ष प्रचण्ड

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङको कानेपोखरी गाउँपालिकास्थित सहिद लक्ष्मी फुँयलको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गर्नुहुँदै । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, फागुन १३ गते ।
सोमबार झापाको केचनाकवलबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ मङ्गलबार मोरङ आइपुगेको छ ।

मोरङमा बिहानैदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत केन्द्रीय नेतृत्वको टोली विभिन्न कार्यक्रममा सहभागी भइरहेको छ । बिहान ८ बजे मोरङको पथरी बजारमा स्थानीयवासी र कार्यकर्ताहरूले उक्त टोलीलाई स्वागत गरेको थियो । त्यसपछि मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलोमा सहिद लक्ष्मी फुँयलको घरमा पुगेर अध्यक्ष प्रचण्डलगायत नेताहरूले सहिद परिवारसँग भेटघाट गर्नुभएको थियो ।

सहिद परिवारको कुरा सुनेपछि रमाइलो बजारमा आयोजना गरिएको जनसभामा भाग लिन पुग्नुभएका अध्यक्ष प्रचण्डले त्यहाँ नेपाली कांग्रेसमा लामो समय आबद्ध रहँदै आउनुभएका जयराज संयोग लिम्बूलगायत विभिन्न पार्टीबाट सयौं व्यक्तिलाई पार्टीमा प्रवेश गराउनुभयो । माओवादी केन्द्र मोरङले कानेपोखरीका करिब नौ सय जना र अन्य पालिकाका एक सय जना पार्टी प्रवेश गरेको जनाएको छ ।

जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले ताप्लेजुङमा सरकारले केबलकार बन्न हुँदैन भन्नेहरूलाई बल प्रयोग गरिरहेको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले दमनबाट नभएर वार्ताबाट समाधान खोज्न आग्रह गर्दै अनावश्यक दमन भएमा माओवादीले आन्दोलन गरिरहेकाहरुलाई साथ दिने पनि बताउनुभयो । 

अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रमको मोडलमा कार्यकर्ताहरूलाई परिचालन गर्दै आएको छ । जसअनुसार आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गर्दैछ भने सहिद परिवार, विभिन्न समुदाय र नागरिक समाजसँग भेटघाट र अन्तरक्रिया पनि गरिरहेको छ । 

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्ध (सशस्त्र सङ्घर्ष)का क्रममा मोरङमा १२६ जना सहिद भएका थिए भने २२ जना अझै बेपत्ता छन् ।