• १५ असार २०८१, शनिबार

फोहोर व्यवस्थापनका लागि नगरप्रमुखको घरदैलो अभियान

blog

मुगु, जेठ १६ गते । मुगु जिल्लाको  छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विष्णुकुमार भामले नगरको फोहोर व्यवस्थापनका लागि अभियान सुरु गर्नुभएको छ ।  नगरप्रमुख भामले घरदैलो अभियान चलाएर  जथाभावी फोहोर नफाल्न आग्रह गर्नुभएको हो । उहाँले  सरसफाइलाई व्यवस्थापन गर्नका लागि गमगढी बजारको घरदैलोमा पुग्नुभएको हो ।

नगरप्रमुख भामले पदभार ग्रहणलगतै गमगढी बजारमा जथाभावी ढलनिकासिले दुर्गन्धित भएको भन्दै सफा सुन्दर  गमगढी बजारको  अभियान थाल्नुभएको हो ।  स्थानीयको घरदैलोमा पुगेर नगर प्रमुख  भामले बजारलाई सफा राख्न र फोहोर नगर्न भन्दै जिल्लाको मुटु सदरमुकाम भएकाले जथाभावी फोहोर नगर्न आग्रह गर्नुभएको हो।

नगरप्रमुख आफैँ सरसफाइमा जुटेपछि सरसफाइ सहजकर्ता सहयोगी र बजारवासीले पनि उहाँलाई साथ दिएका थिए । नगरप्रमुख भामले फोहोर एकै ठाउँमा  व्यवस्थापन गर्दा फोहोर नहुने र नगरको गाडीले फोहाेर आफैँ उठाई डम्पिङ साइडमा फोहर व्यवस्थापन गर्ने भएकाले  यसमा बजारबासीको सहयोग रहनुपर्ने बताउनुभयो । साथै उहाँले नियमित  राम्रोसँग सरसफाइ गर्न नगरका कर्मचारी सरसफाइमा खटिने सहजकर्तालाई  पनि निर्देशन दिनुभएको थियो ।

Author

हरिकृष्ण ऐडी