• १२ फागुन २०८१, सोमबार

शिवालय मन्दिरको दुई सय रोपनी गुठी जग्गा कब्जामा

blog

बलमुक्तेश्वर शिवालय मन्दिर ।

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन १२ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित शिवालय मन्दिरको दुई सय रोपनीभन्दा बढी गुठीको जग्गा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले हडप्दा शिवालयको नियमित पूजासमेत नहुने अवस्था छ । 

तर ऐतिहासिक तथा पुरातात्विक महत्वको याे मन्दिर व्यवस्थापनका लागि गुठीको व्यवस्था भए पनि त्यसलाई व्यवस्थित गर्न नसकिएको शिवालय बलमुक्तेश्वर व्यवस्थापन समितिका अध्यक्ष पहलबहादुर खत्रीले बताउनुभयो । 

मन्दिरमा राखिएको घण्टीमा कुँदिएको विवरणअनुसार शिवालय मन्दिरवि.सं १९०७ साल वैशाख ३ गते निर्माण भएको उल्लेख छ । ढुङ्गाले निर्माण गरिएको शिवालय  मन्दिरको ढोका तथा पर्खालमा पनि आकर्षक आकृतिहरु कुँदिएका छन् । 


मन्दिरको व्यवस्थापनका लागि अध्यक्ष खत्रीद्वारा हस्ताक्षर गरी बेनी नगरपालिकामा बुझाएको पत्रानुसार मन्दिरको नाउँमा दुई सय रोपनी जमिन रहेको देखिन्छ । खत्रीले शिवरात्रीका दिन पूजा व्यवस्थापनका लागि आर्थिक सहायता माग गर्दै बेनी नगरपालिकालाई पत्राचार गर्नुभएको छ ।

पत्रमा मन्दिरको नाउँमा बेनी नगरपालिका–७ मा दुई रोपनी ६ आना, बेनी नगरपालिका–८ फूलबारीमा ४५ रोपनी २ आना, बेनी नगरपालिका–९ तीनमानेमा ५ रोपनी र जलजला गाउँपालिका पर्वतमा १६५ रोपनी गुठी रहेको उल्लेख छ ।

कागजमा यति धेरै गुठी देखिए पनि हाल शिवालयको नाममा एक रोपनी ५ आना मात्रै जमिन रहेको अध्यक्ष खत्रीले बताउनुभयो । बेनी बजारमै रहेको उक्त मन्दिर रहेकै स्थानमा भएको जमिनसमेत १ रोपनी १ आना स्थानीयले हडपेको उहाँको आरोप छ ।

वरपर घर बनाउनेले मन्दिरको जमिन च्याप्दै जाँदा अहिले मन्दिर भएको स्थानमा १ रोपनी ५ आना मात्रै बाँकी छ । यसअघि मन्दिर परिसरमा कुल २ रोपनी ६ आना जग्गा थियो । 

बेनी नगरपालिका–८ फूलबारीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले वि.सं. २०५९ माघ ७ गतेसम्म पटकपटक गरी गुठीको नाउँमा रहेको जग्गा आफ्नो नाममा बनाएको अध्यक्ष खत्रीको भनाइ छ । उहाँको भनाइलाई पुष्टि गर्ने गरी २०७२ माघ २८ गते चलानी नम्बर २८९ को म्याग्दी क्याम्पसको पत्रले गर्छ । 

उक्त पत्रमा २०५९ माघ ७ सम्म पटक पटक गरी ४५ रोपनी जग्गा म्याग्दी क्याम्पसले लिएको उल्लेख गर्दै गुठी संस्थानलाई पत्राचार गरेको देखिन्छ । क्याम्पसले पठाएको पत्रमा ४५ रोपनी २ आना १ पैसा गुठी आफूहरुले गुठी संस्थानला प्रति रोपनी १० हजार रुपियाँका दरले बुझाएर नामसारी गरेको उल्लेख छ । उक्त पत्रमा मन्दिरको पुजारी खर्च क्याम्पसले बेहोर्ने भनेको भए तापनि मन्दिरले त्यस्तो सहयोग प्राप्त नगरेको अध्यक्ष खत्री बताउनुहुन्छ ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले भने शिवालय गुठीको जग्गा प्रयोग गरेको भएर लक्ष्मीनारायण मन्दिरलाई वार्षिक रुपमा १२ हजार रुपियाँ प्रदान गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘त्यहाँ लक्ष्मीनारायण मन्दिर रहेको र त्यसैले व्यवस्थापन गर्ने होला भनेर हामीले मासिक एक हजार रुपियाँका दरले वार्षिक १२ हजार रुपियाँ उपलब्ध गराउँदै आएका छौं ।’’

मन्दिर वि.सं. १९०० भन्दा अगाडि नै  स्थापना भएको र १९०७ मा मन्दिरमा घण्टी प्रदान गरेको त्यहाँको तथ्यले देखाउँछ । उक्त मन्दिर धीर समशेरले निर्माण गरेर निजी गुठी मेत सृजना गरिदिनुभएको र पछि मन्दिरको व्यवस्थापन तथा जीर्णोद्धार खड्गबहादुर कुँवर राणाले गरेको व्यवस्थापन समिति अध्यक्ष खत्रीको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, ‘‘व्यक्तिले सृजना गरिदिएको गुठीमा सम्बन्धित संस्थाबाहेक कसैको हक लाग्दैन, गुठी संस्थानले पनि यो शिवालय मन्दिरको गुठीका विषयमा बोल्न मिल्दैन ।’’ गुठी संस्थानलाई देखाउँदै नामसारी गर्नु मिलेमतोबाट मात्रै हुन सक्ने भएकाले आफूहरु कानुनी उपचारमा जाने खत्रीको भनाइ छ ।