उर्लाबारी समाचारदाता
उर्लाबारी ,फागुन ११ गते । लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले विराटनगरमा क्रिकेट प्रशिक्षक एवं खेलाडी विजयकुमार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
नेपालमा क्रिकेट खेल विकासमा उल्लेख्य योगदान गरेवापत शर्मालाई आइबातर एक लाख एक सय रुपियाँसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
विराटनगरमा २०३७ सालमा भएको जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा २७ विकेटको कीर्तिमानी इतिहास बनाउनुभएका शर्माले लामो समय नेपाली क्रिकेट खेलमा योगदान पुर्याउनुभएको थियो ।
हाल भेट्रान क्रिकेट एसोसिएसनको अध्यक्ष रहनुभएका शर्मा काठमाडौँ निवासी हुनुहुन्छ । उहाँलाई प्राध्यापक कविराज न्यौपानेले पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा उहाँको जीवनीमाथि नेपाली क्रिकेट खेलका राष्ट्रिय अम्पायर बुद्धिबहादुर प्रधानले प्रकाश पार्नुभएको थियो ।
प्रतिष्ठानकी अध्यक्ष समिना पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा चेतना प्रतिष्ठानका अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, सम्मानित साहित्यकार राधा भट्टराईलगायतले बोल्नुभएको थियो ।