कोकिला ढकाल
इलाम, फागुन ११ गते । जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जित्ने इलाम नगरपालिकाका विद्यार्थीलाई नगरपालिकाले आइतबार सम्मान गरेको छ ।
गतवर्ष र यो वर्ष गरि दोस्रो पटक शिल्ड जित्न सफल भएको नगरपालिकाले खेलमा सहभागी विद्यार्थीलाई सम्मान गरेको हो । इलाम नगरपालिकाले यसपटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्वर्ण,१३ रजत र आठ काँस्य गरी पहिलो भएर शिल्ड हात पारेको थियो ।
गएको फागुन ४ देखि ६ गते सम्म इलामको माई नगरपालिकामा आयोजित प्रतियोगितामा १८ स्वर्ण, १३ रजत र २० काँस्य प्राप्त गर्दै सूूर्योदय नगरपालिका दोस्रो भएको थियो । प्रतियोगितामा घरेलु मैदानमा १२ स्वर्ण, १२ रजत र २१ काँस्य पदक प्राप्त गर्दै माई नगरपालिका तेस्रो भएको थियो ।
शिल्ड प्राप्त गर्नसफल भएपछि विद्यार्थीहरुलाई खेल क्षेत्रप्रति हौसला प्रदान गर्दै इलाम नगरपालिकाका प्रमुख केदार थापाले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठ सय ९५ विद्यार्थी (खेलाडी)ले भाग लिएको आयोजक जिल्ला खेलकुद समिति इलामले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट्स विधाका विभिन्न खेल सञ्चालन भएकाे थियो ।