• ११ फागुन २०८१, आइतबार

प्युठानमा दम्पत्ति मृत फेला, हत्या आशङ्का

blog

सलिम मियाँ
बिजुवार, फागुन १० गते ।
प्युठान जिल्लाको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । घटना शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

स्थानीयका अनुसार ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया श्रीमती हुकुमा परियार शुक्रबार राति खाना खाएर सुत्नुभएको थियो । तर बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए ।

जानकारी पाउना साथ प्रहरी चौकी तिरामबाट प्रहरी वरिष्ठ हवल्दार सरद बस्नेतको नेतृत्वमा दुई जनाको टोली घटनास्थल पुगेको थियो । साथै, थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी आफैँ घटना अनुसन्धानमा खटिनुभएको छ ।

घटनास्थलमै रहेका प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी नायब उपरीक्षक बस्यालको नेतृत्वमा अपराध अनुसन्धान शाखाका सात जना प्रहरी अधिकृतसहितको टोली खटिएको जानकारी दिनुभयो ।

मृतकहरूको शरीर र टाउकोमा चोट देखिएकाले घटनालाई शङ्कास्पद मानिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न भइरहेको र अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।