• १९ चैत २०८१, मङ्गलबार

बजेट सकारात्मक र रूपान्तरणकारी

blog

काठमाडौँ, जेठ १६ गते । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ ।

अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. रामशरण महत र पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेटमा धेरै सुधार देखिएको प्रतिक्रिया दिनुभयो । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले प्राथमिकता भुलेर दीर्घकालीन महìवका योजनामा केन्द्रित बजेट ल्याएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो, “सामान्यतया बजेट राम्रै छ । यो मध्यम स्तरको बजेट हो । यतिबेला हामीलाई चाहिएको रूपान्तरणकारी बजेट नै हो । त्यो आउन नसकेपछि बजेटका कतिपय पक्ष राम्रा छन् ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले कृषि, ऊर्जा, पर्यटन र कनेक्टिभिटीलाई महìवसाथ अघि बढाएको बताउनुभयो । बजेट सहज रूपमा कार्यान्वयन हुने बताउँदै उहाँले अन्तर्राष्ट्रिय व्यापार असन्तुलनलाई पाँच वर्षभित्र अन्त्य गर्ने कुरालाई बजेटमा जोड दिइएको बताउनुभयो । उहाँले उत्पादन वृद्धि, आर्थिक विकास र रोजगारीलाई प्रोत्साहित गर्ने तथा सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा गरिबी निवारणका निमित्त मुलुकलाई दिशानिर्देश गर्ने कार्य बजेटले गरेको बताउनुभयो । 

पूर्व अर्थमन्त्री डा. महतले कृषि क्षेत्रमा सुधार गरी निर्यात वृद्धि गर्ने पक्ष बजेटको सशक्त भएको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “कृषिको विकासका सन्दर्भमा बजेट सकारात्मक छ । पुँजीको विकास गर्ने, आयात घटाउने, औद्योगिक क्षेत्रमा निजी लगानी प्रवद्र्धन गर्नेजस्ता विषयले बजेट समयसापेक्ष आएको छ भन्न सकिन्छ ।”

माओवादी केन्द्रका नेता पुनले बजेट उत्कृष्ट रहेको बताउनुभयो । बजेटको सिद्धान्त र प्राथमिकता सरकारको नीति तथा कार्यक्रमअनुसार कृषि क्षेत्रलाई केन्द्रित गरेर आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रमा रहेको जनशक्तिलाई प्रोत्साहन गर्ने गरी बजेट आएको छ । प्राथमिकता पहिचान गरेरै बजेट निर्माण गरिएकाले अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्न बजेट सफल हुनेछ ।” 

एमाले उपाध्यक्ष पौडेलले चुनावका निम्ति स्रोतको व्यवस्थापन गरे चुनाव चालू आयोजनालाई जारी राख्नका निम्ति र साधारणतर्फको खर्च सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले १५ वर्ष र २५ वर्षका योजना ल्याएको छ । बजेट आगामी चुनावमा मत बटुल्ने खालको मात्रै भयो ।” 

निजामती कर्मचारी युनियनका सभापति गोपाल पोखरेलले बजेटका केही पक्षले राहतको अनुभूति गर्न सकिने तर महँगी नियन्त्रण गर्न नसकिए तलब वृद्धि हुनुको औचित्य नहुन सक्नेतर्फ सचेत गराउनुभयो । उहाँले महँगी नियन्त्रणमा बढी ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।