• १० फागुन २०८१, शनिबार

विद्यार्थीको विदेश मोह, बिरानो बन्दै स्वदेशी विश्वविद्यालय

blog

काठमाडौँ, फागुन ९ गते । छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाइरहेका छन् । 

पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (किट) विश्वविद्यालयमा मात्रै एक हजार पाँच सय जनासम्म नेपाली विद्यार्थीले अध्ययन गरिरहेको बताइएको छ तर नेपालमा सञ्चालित विश्वविद्यालयमध्ये केहीमा भने मुस्किलले पाँच सय विद्यार्थीले मात्रै अध्ययन गरिरहेको सरकारी तथ्याङ्कले नै देखाएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार राजर्षिजनक विश्वविद्यालयमा जम्मा ५२७ जना मात्रै विद्यार्थी छन् । अझ मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयमा त जम्मा १५ जना मात्रै विद्यार्थी पढ्छन् । यद्यपि सूचना प्रविधिको क्षेत्रमा खपत हुने उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने हुनाले यस विश्वविद्यालयमा सबै प्रकारका विद्यार्थीले भर्ना पाउँदैनन् । 

आयोगका अनुसार नेपाल खुला विश्वविद्यालयमा एक हजार ६३४, लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक हजार ८३२ जना विद्यार्थी अध्ययनरत छन् । प्रादेशिक विश्वविद्यालयको अवस्था पनि दयनीय नै छ । यहाँका विश्वविद्यालयमा समयमा पढाइ नसकिनु, परीक्षा भए पनि नतिजा समयमा नआउनु तथा समयको माग अनुसार पाठ्यक्रममा परिवर्तन नहुनु जस्ता कारणले विद्यार्थीलाई आकर्षित गरेर टिकाउन नसकिएको शिक्षाविद्को भनाइ छ । 

भारतका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई परामर्श दिइरहेका संस्थाका एक हजार पाँच सयको हाराहारीमा नेपाली विद्यार्थी पढिरहेका विश्वविद्यालय तथा शैक्षिक संस्था भारतमा थुप्रै छन् । यद्यपि यो सरकारी तथ्याङ्क भने होइन, ‘तर सोही तथ्याङ्कको वरिपरि नै नेपाली विद्यार्थी किटमा पढिरहेको भन्ने छ’ इन्डो वल्र्ड एजुकेसन कन्सल्टेन्सीका कार्यकारी अध्यक्ष शिवप्रसाद अर्यालले भन्नुभयो । भारतमा पढ्न जाने नेपाली विद्यार्थीलाई विगत दुई दशकदेखि परामर्श दिँदै आउनुभएका अर्यालका अनुसार भारतमा पछिल्लो समय विद्यालय तहको शिक्षाका लागि जाने विद्यार्थीमा कमी आए पनि उच्च शिक्षाका लागि जाने भने बढिरहेका छन् । 

नेपाली विद्यार्थीको आकर्षण दर उच्च रहेको भारतका विश्वविद्यालय निजी लगानीमा खुलेका हुन् । “स्वदेशमा भने सरकारी लगानीमा खुलेका विश्वविद्यालयमा विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुग्ने तर केही घण्टाको दुरीमा रहेको सिमानाका विश्वविद्यालयमा भने यतैका विद्यार्थीले भरिभराउ हुने अवस्था आउनु दुःखद हो,” शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलले भन्नुभयो । 

स्वदेशी विश्वविद्यालयले विद्यार्थी टिकाउन नसक्नुमा यहाँको राजनीतिक, शैक्षिक, आर्थिक तथा प्रशासनिक प्रणाली नै दोषी रहेको दाबी गर्दै लुइँटेलले भन्नुभयो, “यसको सुधारका लागि राजनीतिक नेतृत्वमा इच्छाशक्ति हुनु पर्छ । यहाँ त विश्वविद्यालय भागबन्डामा नियुक्त भएका पदाधिकारीका लागि मात्रै भए । विद्यार्थीका समस्या समाधान गर्नु पर्छ भन्ने भावना नेतृत्वमा रहेन । अब पनि यस विषयमा गम्भीर भएर सोचिएन भने यसको दूरगामी असर पर्छ ।”

धेरै जसो नेपाली विद्यार्थी भारतका शैक्षिक संस्थामा सूचना प्रविधिसँग सम्बन्धित विषय अध्ययन गर्न जाने गरेका छन् । त्यसबाहेक नर्सिङ, इन्जिनियरिङलगायतका विषय अध्ययन गर्न जाने गरेका छन् । 

पछिल्लो समय भारतमा करिब १५ हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको अनौपचारिक तथ्याङ्क छ तर भारत पढ्न जानका लागि वैदेशिक अध्ययन अनुमतिपत्रको अनिवार्य आवश्यकता नपर्ने भएका कारण कुन शैक्षिक संस्थामा कति विद्यार्थीले अध्ययन गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क आउन सकेको छैन । 

परामर्श व्यवसायीका अनुसार भारतमा उच्च शिक्षा अध्ययनका लागि प्रतिवर्ष ५० हजारको हाराहारीमा विदेशी विद्यार्थी पढ्न आउने गरेका छन् । “जसमा नेपाली विद्यार्थीको हिस्सा २५ प्रतिशतको हाराहारीमा रहेको छ।” इन्डो वल्र्डका अध्यक्ष अर्यालले भन्नुभयो, “तर यो पनि हाम्रो प्रणालीबाट आएको आधिकारिक तथ्याङ्क होइन । सरकार आफैँ नलागेसम्म यसको वास्तविक तथ्याङ्क आउँदैन ।” 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।