• ८ वैशाख २०८२, सोमबार

वनडढेलो नियन्त्रण गर्न समन्वय अभाव

blog

वनडढेलो समन्वय तथा अन्तरक्रिया कार्यक्रमका सहभागी ।

रामेछाप समाचारदाता

रामेछाप, फागुन ८ गते  । रामेछापका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले वनडढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रामेछापले स्थानीय तहसँग समन्वय नगरेको गुनासो गरेका छन् । डिभिजन वन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको वनडढेलो समन्वय तथा अन्तव्रिर्mया कार्यव्रmममा सहभागी भएका नगरपालिका तथा गाउँपालिका प्रमुख, उपप्रमुखले यस्तो गुनासो गर्नुभएको हो ।  

कार्यव्रmममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले गत वर्ष वनडढेलोका घटनाबाट धेरै क्षति बेहोरेको बताउनुभयो ।  मन्थली नगरपालिकामा यो वर्ष हुन सक्ने वनडढेलोको घटना नियन्त्रणका लागि डिभिजन तथा सबडिभिजन वन कार्यालयले कुनै समन्वय तथा सहकार्य नगरेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “व्यक्तिको बारीको एउटा खयरको रुख काट्न डिभिजन वनसँग अनुमति लिनु पर्छ तर डिभिजन तथा सबडिभिजन वन कार्यालयबाट सञ्चालन हुने कार्यव्रmम स्थानीय सरकारलाई जानकारी हुँदैन । अधिकार खोज्ने निकायले आफ्नो कर्तव्य चाहिँ पूरा गर्नु पर्छ कि पर्दैन ?”

डिभिजन वन कार्यालय रामेछाप वनडढेलो नियन्त्रणसम्बन्धी कार्यविधि २०८१ बनाउँदा नगरपालिकासँग कुनै समन्वय नगरेको उहाँको गुनासो छ । मन्थली नगरपालिकाले वनडढेलो नियन्त्रणका लागि सकेको तयारी गरिरहेको र डिभिजन वनलाई पनि आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । 

देरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले आफ्नो पालिकामा डिभिजन वन कार्यालय तथा सबडिभिजन वन कार्यालयको कुनै भूमिका नदेखिएको बताउनुभयो । डिभिजन वन कार्यालयले लुकी लुकी आफ्नो गतिविधि सञ्चालन गरिरहेको उहाँले आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, “डिभिजन वन कार्यालयले आफ्नो कार्यक्रम स्थानीय तहमै कार्यान्वयन गर्ने हो तर हामी स्थानीय सरकारलाई नै वनको कार्यक्रमबारे कुनै जानकारी हुँदैन । यस्तो अवस्थामा वनले स्थानीय सरकारसँग समन्वय गर्नु पर्छ कि पर्दैन ? कि डिभिजन वन कार्यालय छुट्टै राज्यबाट आएको हो ।” 

वनडढेलो नियन्त्रणसम्बन्धी विषयमा डिभिजन वन कार्यालयले कुनै पनि समन्वय तथा सहकार्य नगरेको उहाँको गुनासो छ । डिभिजन वन कार्यालयले मनलाग्दी तरिकाले काम गरिरहेकाले यो कार्यालयको विरुद्धमा गाउँपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म जानेसमेत उहाँले बताउनुभयो । 

लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले डिभिजन तथा सबडिभिजन वन कार्यालयसहित वन उपभोक्ता महासङ्घलेसमेत स्थानीय सरकारलाई बेवास्ता गरेको बताउनुभयो । वनडढेलो नियन्त्रणका लागि आवश्यक योजना निर्माणसहित कार्यान्वयन गर्ने प्रमुख निकाय स्थानीय सरकारसँग कुनै समन्वय तथा सहकार्य नहुनु दुःखद कुरा भएको उहाँको गुनासो छ ।  

रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले वनडढेलो नियन्त्रणका लागि बनाइने कार्ययोजना कार्यान्वयन गर्न सबै पक्षलाई थाहा हुनुपर्ने बताउनुभयो । 

त्यसै गरी खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ र उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले पनि डिभिजन वन कार्यालय रामेछाप र सबडिभिजन वन कार्यालयको कार्यव्रmम तथा योजनाबारे जानकारी नहुँदा डढेलो नियन्त्रणमा समस्या झेल्नु परेको गुनासो गर्नुभयो । डढेलो लगाउनु सामाजिक अपराध हो भने नियन्त्रण गर्नु सामाजिक दायित्व भएकाले यो वर्ष वनडढेलोका घटना हुन नदिन सबै सरोकारवाला निकाय एक भएर लाग्नुपर्नेमा उहाँहरूको जोड छ । 

रामेछापका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक राजुप्रसाद पौडेलले यो वर्ष वनडढेलोका घटनामा संलग्नलाई कडाइका साथ कानुनी दायरामा ल्याइने बताउनुभयो । उहाँले गत वर्ष रामेछापले वनडढेलोका धेरै घटना भोग्नु परेकाले यसलाई ध्यानमा राखेर जिल्लास्थित प्रमुख सरोकारवाला निकायको संलग्नतामा वनडढेलो नियन्त्रणसम्बन्धी कार्ययोजना २०८१ को प्रारम्भिक मसौदा तयार पारिएको बताउनुभयो । अन्तव्र्रिmया कार्यक्रममा सहभागी स्थानीय सरकार प्रमुख, उपप्रमुख तथा सरोकारवाला निकायको सुझावलाई समेटेर वनडढेलो नियन्त्रणसम्बन्धी कार्ययोजना २०८१ लाई पूर्णता दिई कडाइका साथ कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो । 

यो वर्ष जनचेतना, वनडढेलो नियन्त्रण र वनडढेलोका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने जस्ता तीन वटा विषयलाई प्राथमिकतामा राखेर जिल्लामा वनडढेलो नियन्त्रणका लागि काम गरिने उहाँको भनाइ छ । कार्यक्रममा डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशङ्कर जसवालले वनडढेलो नियन्त्रणसम्बन्धी कार्ययोजना २०८१ को प्रारम्भिक मसौदा प्रस्तुत गर्नुभएको थियो ।