बिन्दु थापा
पाल्पा, असार १० गते । किसानलाई आत्मनिर्भर बनाउने र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्य साथ आर्थिक विकास परियोजना अन्तर्गत तानसेन नगरपालिकाले ११ वटा वडाका किसानलाई कृषि सामग्री, बाख्रा तथा मौरीघार प्रदान गरिएको छ ।
तानसेन नगरपालिकाले नगरलाई कृषिमैत्री बनाउन कृषकका लागि सहुलियत प्रदान गर्न प्रयास गरेको बताउँदै कृषकलाई बाख्रा तथा बिउबिजन वितरण गर्दैआएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय सरकार जनताको नजिकको सरकार भएको जनतालाई अनुभूति दिलाउँदै नगरका जनताको आर्थिकस्तरमा सुधार ल्याउन नगरपालिकाले कृषिमा लगानी गरेको तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।
नगरपालिकाको नीति तथा योजनाअनुसार आर्थिक विकास सङ्घ रेडासँग सहकार्य गर्दै नगरपालिकाले ११ वटा वडामा बाख्रा, कुखुरा, बिउ बिजन वितरण गर्ने कार्कीले बताउनुभयो । अहिलेसम्म वडा नं १ मेड्पा अन्तर्गत सिलाई मेसिन वडा ६ मा २० वटा बाख्रा, वडा ७ मा २० वटा बङ्गुर, वडा ८ का कृषकलाई २० वटा बाख्रा, वडा नं ९ मा सुन्तला फलफूल वितरण, वडा नं १० का कृषकलाई २२ वटा बिउ पाठी र १ बिउ बोका उपहारको रूपमा प्रदान गरिएको छ ।
यस्तै वडा नं ११ मा ५ हजार कुखुरा, ६२ वटा बाख्रा, एउटा बिउ बोका, २२ गोलासहित मौरी घार, वडा नं १२ मा ५८ वटा हाते टयाक्टर, २९ कम्वायल, १२ कन्सेलर, प्रदान गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । बाख्राबाट बाख्रा उत्पादन गरी फेरि अन्य कृषकलाई उपहार दिनेगरी बाख्रा प्रदान गरिएको हो ।
आर्थिक विकास संघ रेडा पाल्पाका निर्देशक लीलाबहादुर कार्कीले किसानलाई प्रोत्साहन गर्दै कृषकको आवश्यकता र मागको आधारमा तानसेन नगरपालिकाको आर्थिक सहयोग र हेफर नेपालको प्राविधिक सहयोग, रेडा पाल्पाको सहजीकरणमा कृषि सामग्री उपलब्ध गराएको छ । कार्कीले किसानलाई कृषि र पशुपालनमा कसरी अघि बढाउन सकिन्छ भनेर दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
तानसेन नगरपालिका वडा १० का वडाध्यक्ष हिमलाल पङ्गेनीले कृषकका लागि अझ धेरै सेवा सुविधा उपलब्ध गराउन बाँकी रहेको बताउँदै अहिले नगरपालिका र रेडाको सहकार्यमा बाख्रा वितरण गरी कृषकलाई केही राहत प्रदान गर्ने उद्देश्यले कृषिमा लगानी गरेको बताउनुभयो ।
यस्तै वडा ८ का वडा सदस्य दिलबहादुर थापा क्षेत्रीले कृषकलाई आफनो व्यवसाय बढाउन कृषक स्वयंले मिहिनेत गरेर उपहार पाएका कृषि सामग्री तथा बिउ बिजनबाट आम्दानी गर्न सक्ने बताउनुभयो ।