• १२ असार २०८१, बुधबार

प्राचीन तिलौराकोटस्थित मौर्यकालीन पोखरीको उत्खनन

blog

तिलौराकोट स्थित मध्यभागको पोखरीको उत्खनन । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा, जेठ १५ गते ।
भगवान गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन गरिएको छ । युनेस्को जापानिज फण्ड्स इन ट्रष्टको आर्थिक सहयोगमा सन २०१४ मा नेपाल सरकार पुरातत्व विभाग, बेलायतको दुरह्याम विश्वविद्यालय, लुम्बिनी विकास कोषलगायतको टोलीले सो क्षेत्रमा भूभौतिक सर्बेक्षण गरेको हो ।

भूभौतिक सर्वेक्षणबाट जमिनभित्र अलिकति धस्सिएको ३० बाई ३० मिटर क्षेत्रफलकोे एउटा संरचना फेला परेको थियो । भूभौतिक सर्वेक्षणले यसको वरिपरि चौडा बाहिरी पर्खाल भएको र मध्यभागमा खाली रहेको तथा उक्त संरचना प्राचीन नगरका अन्य सडक तथा भवनहरु जस्तै भएको सङ्केत गरेको थियो । उत्खननबाट नगरभित्र इँट्टाका गारोहरु लगाइएको ठूलो पोखरी रहेको भेटिएको हो ।

सो क्षेत्रको उत्खनन गर्दा जोगिएको २६ तहको इँट्टा भेटिएको र त्यो इँट्टाका तहहरु क्रम मिलाएर राखिएको पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बताउनुभयो । उक्त क्षेत्रमा निर्माण गरिएको पोखरीका इँट्टाहरु कुनै कुनै ४५ मिटर लम्बाइ भएको भेटिएको उहाँले बताउनुभयो । भेटिएको संरचनालाई रेडियो कार्बन तिथि निर्धारण गर्दा सो पोखरी मौर्यकालीन समयमा बनेको भनी पत्ता लागेको अधिकृत ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका वर्षहरुमा उत्खनन गर्दा पोखरीको दक्षिण पूर्वी कर्नर र पश्चिम दक्षिणी कर्नर पत्ता लगाएको बताउनुभयो ।” अहिले पुरातत्व विभागले गरेको उत्खननले दक्षिणतर्फको संरचना पत्ता लगाएको उहाँले बताउनुभयो । सो उत्खननबाट बढीमा १९ तहको उत्खनन गर्न सफल भएको उहाँको भनाइ छ ।

उक्त पोखरीको निर्माण काठमाडौं उपत्यकामा नगरी योजनाको मुख्य अंश भएको र तिलौराकोटमा समेत यसको निर्माण भएको हुनले नेपालको तराई र पहाडका बीचमा नगरी योजनासम्बन्धी साझा अवधारणा रहेको हुन सक्ने कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो ।

उत्खनन्को क्रममा मौर्याकालमा बनेको पोखरीको भग्नावशेष, कुषाणकालिन सिक्का, पाञ्चमार्कका सिक्का, विभिन्न किसिमका माटोबाट बनेका आकृतिहरु फेला परेको हो ।

तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचिमा सूचीकृत गर्न लुम्बिनी विकास कोष र पुरातत्व विभागले विभिन्न किसिमका प्रक्रियाहरु अगाडि बढाएको कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताउनुभयो ।

त्यस्तै, सरकारले पनि कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको मङ्गलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने बताएकी हुन् ।

विगतका वर्षहरुमा तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, कन्थक स्तुुप, शिवगढ र तिलौराकोटको उत्तरतर्फको खाली ठाउँमा उत्खनन गरिएको लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले बताउनुभयो ।