वासिङ्टन, मङ्सिर ५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८-बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षासम्बन्धी छुट प्रदान गर्नुपर्ने प्रावधान छ ।
सो योजनाअनुसार रुसलाई पुनः जी-८ मा फर्काइनेछ र विभिन्न प्रतिबन्ध चरण बद्धरूपमा हटाइनेछ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटका अनुसार राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा विदेशमन्त्री मार्को रुबियोले लगभग एक महिनादेखि यस योजनामा ‘शान्त तर सक्रिय’ रूपमा कार्य गर्दै आउनुभएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूले ‘छुट्टै संवादमार्फत’ आगामी दिनमा ट्रम्पसँग योजनाबारे छलफल गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
एएफपीद्वारा हेरिएको मस्यौदामा समेटिएका २८ बुँदा यस प्रकार छन् :
१. युक्रेनको सार्वभौमिकता औपचारिकरूपमा पुनः पुष्टि गरिनेछ ।
२. रुस, युक्रेन तथा युरोपबिच व्यापक गैर-आक्रमण सम्झौता हुनेछ र विगत ३० वर्षदेखि देखिएका अस्पष्टता समाधान भएको मानिनेछ ।
३. रुसले छिमेकी मुलुकमा आक्रमण नगर्ने र नाटोले थप विस्तार नगर्ने सहमति रहनेछ ।
४. संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रुस-नाटोबिच सुरक्षा तथा तनाव न्यूनीकरणसम्बन्धी संवाद हुनेछ ।
५. युक्रेनले भरपर्दो तथा दीर्घकालीन सुरक्षा ग्यारेन्टी प्राप्त गर्नेछ ।
६. युक्रेनी सशस्त्र बलको अधिकतम आकार छ लाख जनामा सीमित गरिनेछ ।
७. युक्रेनले संविधानमा नाटोमा प्रवेश नगर्ने प्रावधान राख्नेछ, त्यस्तै नाटोले पनि भविष्यमा युक्रेनलाई सदस्यता नदिने उल्लेख आफ्नो विधानमा समावेश गर्नेछ ।
८. नाटोले युक्रेनमा सेना तैनाथ नगर्ने सहमति जनाइनेछ ।
९. युरोपेली लडाकू विमान पोल्यान्डमा तैनाथ गरिनेछन् ।
१०. सुरक्षाको ग्यारेन्टीका बापत अमेरिकाले प्रतिफल प्राप्त गर्नेछ । युक्रेनले रुसमाथि अनावश्यक आक्रमण गरे ग्यारेन्टी खारेज हुनेछ र यदि रुसले आक्रमण गर्यो भने सबै प्रतिबन्ध पुनः लागु भई सैन्य प्रतिक्रिया समन्वितरूपमा हुनेछ ।
११. युक्रेन इयु सदस्यताको योग्य मानिनेछ र युरोपेली बजारमा छोटो अवधिको प्राथमिक पहुँच प्राप्त गर्नेछ ।
१२ युक्रेन पुनर्निर्माणका लागि विश्व बैंकको विशेष वित्तीय प्याकेजसहित व्यापक अन्तर्राष्ट्रिय सहयोग, पूर्वाधार पुनर्निर्माण तथा प्राकृतिक स्रोत उत्खननका कार्यक्रम अघि बढाइनेछन् ।
१३. रुसलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्ने, प्रतिबन्ध हटाउने तथा संयुक्त राज्य अमेरिकासँग दीर्घकालीन आर्थिक सम्झौता गर्ने छलफल अघि बढाइनेछ ।
१४. करिब एक खर्ब डलर बराबरका फ्रिज गरिएका रूसी सम्पत्ति अमेरिकाले नेतृत्व गर्ने युक्रेन पुनर्निर्माण परियोजनामा लगानी गरिनेछ, जसको ५० प्रतिशत नाफा अमेरिकाले पाउनेछ । थप एक खर्ब डलर युरोपले लगानी गर्नेछ ।
१५. सम्झौताको निगरानी तथा सुरक्षा प्रावधान कार्यान्वयनका लागि संयुक्त अमेरिकी-रूसी कार्य समूह गठन गरिनेछ ।
१६. रुसले युक्रेन तथा युरोपप्रति आफ्नो गैर-आक्रमण नीतिलाई कानुनी मान्यता दिनेछ ।
१७. संयुक्त राज्य अमेरिका र रुसले स्टार्ट १ सहितका परमाणु अप्रसार तथा नियन्त्रणसम्बन्धी सन्धिको अवधि विस्तार गर्नेछ ।
१८. युक्रेनले एनपिटी अनुसार गैर-आणविक राज्यको हैसियत कायम राख्न सहमति जनाउनेछ ।
१९. जापोरिजिया अणुऊर्जा केन्द्र आइएइएको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्दै उत्पादित विद्युत रूस–युक्रेनबिच बराबर भागमा बाँडिनेछ ।
२०. दुवै देशले विद्यालय र समाजमा सहिष्णुता तथा आपसी समझदारी प्रवर्धन गर्ने शैक्षिक कार्यक्रम लागू गर्नेछन् ।
२१. क्रिमिया, लुहान्स्क र डोनेट्स्कलाई वास्तविक रूपमा रूसको रूपमा मान्यता दिइनेछ । खेरसन र जापोरिझिया सम्पर्क रेखामा ‘स्थिर’ अवस्थामा रहने छन् । रुसले सहमत बाहेकका अन्य क्षेत्रको नियन्त्रण त्याग्नेछ ।
२२. दुवै देशले भविष्यका क्षेत्रीय व्यवस्था बल प्रयोग गरेर नबदल्ने वाचा गर्नेछन् । उल्लङ्घन भए सुरक्षा ग्यारेन्टी स्वतः निष्क्रिय हुनेछन् ।
२३. रुसले युक्रेनलाई नीपर नदी व्यावसायिक प्रयोजनमा प्रयोग गर्न अवरोध गर्नेछैन र कृष्णसागर हुँदै अन्न ढुवानी निः शुल्क सुनिश्चित गरिनेछ ।
२४. कैदी आदान-प्रदान, बन्धक तथा अवशेष फिर्तासहित पारिवारिक पुनर्मिलन कार्यक्रम सञ्चालन गर्न मानवीय समिति गठन हुनेछ ।
२५. युक्रेनमा आगामी १०० दिनभित्र आम निर्वाचन गरिनेछ ।
२६. द्वन्द्वमा संलग्न सबै पक्षलाई पूर्ण माफी प्रदान गरिनेछ र भविष्यमा कुनै दाबी वा उजुरी नउठाउने सहमति हुनेछ ।
२७. सम्झौता कानुनीरूपमा बाध्यकारी हुनेछ र यसको कार्यान्वयन राष्ट्रपति ट्रम्प नेतृत्वमा रहेको शान्ति परिषद्ले निगरानी गर्नेछ । उल्लङ्घनमा प्रतिबन्ध लागु हुनेछ ।
२८. सबै पक्ष सहमत भएपछि दुवै पक्षका सेनाले निर्धारित स्थानमा पछि हट्नेबित्तिकै युद्धविराम लागू हुनेछ र सम्झौता कार्यान्वयन सुरु हुनेछ । उल्लेखित योजना दुवै पक्षका सहमति र कूटनीतिक प्रगतिमा निर्भर रहने बताइएको छ । रासस/एएफपी