• ९ फागुन २०८१, शुक्रबार

अल्लो प्रशोधन उद्योग सङ्कटमा

blog

बाढीपहिरोले क्षति गरेको रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ स्थित अल्लो प्रशोधन उद्योग ।

रामेछाप समाचारदाता

रामेछाप, फागुन ८ गते । गत भदौ ८ र असोज १२ को अविरल वर्षाले क्षति पुगेको रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाको सल्लेटारस्थित शैलुङ अल्लो प्रशोधन उद्योग अझै सञ्चालनमा आउन सकेको छैन ।  स्थानीय कच्चा वस्तु अल्लोको सदुपयोग गरी कपडा बनाउने यो उद्योगले अहिले ठुलो सङ्कट झेलिरहेको छ । सीमान्तकृत थामी समुदायले सुरु गरेको यो उद्योग सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा अलमलमा परेका छन् ।   

उद्योगमा सुरु गरेकै वर्ष क्षति पुगेपछि उद्योग सञ्चालक अब कसरी अघि बढ्ने भन्ने अन्योलमा छन् । अल्लो प्रशोधनको काम सुरु गरेको दुई वर्ष पुगे पनि कम्पनी दर्ता गरेर उद्योग सुरु गरेको एक वर्ष भएको उद्योगका अध्यक्ष भीमबहादुर थामीले बताउनुभयो । 

स्थानीय शैलुङको जङ्गलमा पाइने सिस्नो जातको अल्लो सङ्कलन गरेर लोक्ताबाट धागो निकाली भाङ्ग्रोलगायत विभिन्न लुगा उत्पादन गर्ने सो उद्योगमा नसोचेको विपत्ति आइलागेको उहाँले बताउनुभयो । उद्योगको भवनमा क्षति पुगेपछि गत भदौदेखि उद्योग सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो “उद्योग राम्रोसँग सञ्चालन हुन नपाई विपत्ति आइलाग्यो । गत भदौ ८ को बाढीपहिरोले भवनको गारो भत्किएर भित्र छिर्न सक्ने अवस्था छैन । उत्पादन सुरु गर्नु त धेरै परको कुरा ।” भवनभित्र बसेर तानबाट लुगा बनाउने काम नभए पनि अल्लो सङ्कलन गर्ने र लोक्ता निकाल्ने काम भने भइरहेको उद्योगका अध्यक्ष थामीले बताउनुभयो । 

यो उद्योगबाट भाङ्ग्रो, पटुका, गलबन्दी, पछ्यौरा, सल, गम्छालगायतका कपडा उत्पादन हुने गरेको छ । उत्पादन गरेको कपडाले माग धान्न नसकेको अवस्था रहँदा बाढीपहिरोका कारण उद्योग सङ्कटमा परेको अध्यक्ष थामीको भनाइ छ । 

बागमती प्रदेश सरकारले उपकरणलगायतको सहयोग गरेपछि सञ्चालनमा आएको उद्योगमा क्षति पुगेको छ महिनाभन्दा बढी भयो । लगानी नै उठी नसकेको अवस्थामा भवनमा क्षति पुगेपछि अब उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ता लगानीकर्तालाई भएको दोरम्बा शैलुङ गाउँपालिका–१ का वडा सदस्य मङ्गले थामीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रदेश सरकारको सहयोग र स्थानीय लगानी गरी २८ लाख रुपियाँ लगानीमा उद्योग सञ्चालनमा ल्याइएको थियो । राम्रो उत्पादन गर्न नपाई उद्योगलाई बाढीले क्षतविक्षत बनाएको छ । उद्योग पुनः सञ्चालनका लागि अहिले हारगुहार गरिरहेका छौँ ।”

पहिला बाढीपहिरोले गाउँ नै क्षतविक्षत भएकाले गाउँलेहरू आफ्नो बस्ने बासकै व्यवस्थापनमा जुटेकाले उद्योग सञ्चालनमा ध्यान नगएको उहाँले बताउनुभयो । अब आफूहरूको ध्यान उद्योग सञ्चालनमा रहेको उहाँले बताउनुभयो । 

यो उद्योग सञ्चालन हुँदा दैनिक १० जनाभन्दा बढी स्थानीयले रोजगारी पाएका थिए । त्यसबाहेक अल्लो सङ्कलन गर्ने, लोक्ता निकाल्ने, धागो बनाउनेले पनि आम्दानी गर्दै आएका छन् ।