काठमाडौँ, फागुन ७ गते । महान् सहिदहरूको बलिदानीपूर्ण त्याग र सङ्घर्षको जगमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला कोरिएको दिन फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै आज विविध कार्यक्रम र उल्लाससहित प्रजातन्त्र दिवस मनाइँदै छ ।
प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय राजनीतिकशास्त्रका पूर्वविभागीय प्रमुख प्राडा मीना वैद्य मल्ल र इतिहासका प्राध्यापक डा. राजेश गौतमले २००७ सालको जनक्रान्तिले नै नागरिकलाई अधिकारसम्पन्न बनाउने जग बसाएको बताउनुभयो ।
प्राडा गौतमले भन्नुभयो, “संवैधानिक रूपमा प्रजातान्त्रिक व्यवहार अनुसार नागरिकका अधिकार स्थापित गर्ने कामको बलियो थालनी २००७ को जनक्रान्तिले गरेको हो । त्यही जनक्रान्तिको जगमा टेकेर नेपालमा गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहितको नागरिकलाई अधिकारसम्पन्न बनाउने व्यवस्थाको अभ्यास आरम्भ भएको हो ।”
उहाँले देशमा पछिल्लो सात दशकमा विभिन्न चरणमा राजनीतिक परिवर्तन र शासकीयस्वरूपमा रूपान्तरण भए पनि त्यसको आधार २००७ कै क्रान्ति भएको बताउनुभयो । उहाँले नेपालको इतिहासमा अङ्कित गर्नुपर्ने मानव अधिकार, जनअधिकारका हिसाब र देश विकासका हिसाबले २००७ को जनक्रान्ति मेरुदण्ड भएको विश्लेषण गर्नुभयो ।
उहाँले भन्नुभयो, “२००७ सालभन्दा पहिले नेपालको बेग्लै इतिहास थियो तर जनक्रान्तिपछि राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरणका दृष्टिकोणले बेग्लै रह्यो । त्यो केवल एउटा आन्दोलन मात्रै थिएन, नागरिकलाई सार्वभौम बनाउने र नागरिकले आफ्ना प्रतिनिधि आफैँले छान्न पाउने व्यवस्थाको आरम्भ भएको दिन पनि थियो । अब समृद्धिमार्फत देशलाई रूपान्तरण गर्नु पर्छ ।”
उहाँले राणा शासनपछि प्रजातन्त्रको अभ्यास हुँदाहुँदै पञ्चायती व्यवस्था आएको र नागरिकले आफ्ना भावना व्यक्त गर्नै नसक्ने परिस्थितिको अन्त्य भएको स्मरण गर्दै अब नेपालमा नागरिकले गुनासो र आलोचना खुला रूपमा राखेर लोकतान्त्रिक व्यवस्था अनुरूप अधिकारको अभ्यास गरिरहेको बताउनुभयो ।
जनचेतनाले आयो जागरण
प्राडा वैद्यले २००७ सालको जनक्रान्तिको जगमा नेपालमा सबै क्षेत्रमा रूपान्तरण आएको बताउनुभयो । उहाँले नागरिक तहमा पनि शिक्षाको विकास र चेतनाको विकासले आफ्नो कर्तव्यप्रति सजग र सचेत हुँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रजातन्त्र स्थापनासँगै सरकारलाई समेत सही काम गर्न दिशानिर्देश गर्ने, खबरदारी गर्ने, आफ्ना जनप्रतिनिधि आफैँ छान्न पाउने जस्ता नागरिकका अधिकार स्थापित भएका छन् । राज्यका सबै संयन्त्रलाई चलायमान बनाउन खबरदारी गर्नेसम्मको अधिकार प्रत्याभूत भएको छ ।”उहाँले अब अधिकार मात्रै खोज्ने नभई आफ्नो कर्तव्य पालना गर्नेतर्फ पनि नागरिकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकको अधिकार, हकहितको अनुभूति र अभ्यास गरेसँगै राज्यप्रति आफ्नो दायित्व पूरा गर्न र विकासमा आफ्नो भूमिका अझ सशक्त बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रजातन्त्र स्थापनापछि स्वतन्त्रताको अभ्यास गर्न पाइएको छ तर स्वतन्त्रताका नाममा उच्छृङ्खलता बढेको छ । स्वतन्त्रता प्राप्तिसँगै जिम्मेवारी वहन गर्नु पर्छ । सरकारप्रति जिम्मेवारीसहितको प्रजातान्त्रिक अधिकार अभ्यास गर्नु पर्छ ।”
उहाँले सरकारसँगको सरोकार, सरकारलाई नागरिकप्रति उत्तरदायी र जिम्मेवार बनाउनेतर्फ जनता जागरुक भइरहँदा सरकारका कामकारबाहीको मूल्याङ्कन गरेर सच्चिन खबरदारी गर्नेसम्मको अधिकार स्थापित भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डितले प्रजातन्त्र प्राप्तिसँगै सीमान्तकृत नागरिकले आफ्ना अधिकार पाएको स्मरण गर्नुभयो । उहाँले सङ्घीयता, गणतन्त्र, समावेशी प्रणाली, महिला, मधेश, दलित, कर्णालीसहित पिछडिएका क्षेत्रले गणतान्त्रिक व्यवस्था प्राप्त भए पनि यसको आधारशिला २००७ को जनक्रान्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनक्रान्तिको जगमा सङ्घीय गणतन्त्र स्थापना भयो । अब समुन्नत राष्ट्र निर्माणमा लाग्नु पर्छ ।”