काठमाडौँ, फागुन ६ गते। सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आर्टिफिसियल इन्टलिजेन्स (एआई) को नीति तर्जुमा अन्तिम चरणमा पुगेको बताउनुभएको छ।
वमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लूआईआईटी) ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मङ्गलबार ललितपुरमा आयोजना गरेको ‘डब्लूआईआईटी इभेन्ट अन् डिसेमिनेसन’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
सचिव अर्यालले मन्त्रालयले अहिले सूचना, प्रविधि क्षेत्र र साइबर सुरक्षाको क्षेत्रमा नयाँ विधेयक तयार गरिरहेको बताउनुभयो। यसैगरी, सामाजिक सञ्जाल नियमन गर्ने विधेयक सङ्घीय संसदमा दर्ता भएको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “सूचना, प्रविधि क्षेत्र र साइबर सुरक्षाको सन्दर्भमा नयाँ विधेयक तयार गरिरहेको छ। सामाजिक सञ्जाल नियमन गर्ने विधेयक सङ्घीय संसदमा दर्ता गरिसकेको छ। डिजिटल नेपाल फ्रेम वर्क कार्यान्वयन भइरहेको छ, समय सान्दर्भिक बनाउने सन्दर्भमा परिमार्जन गरिरहेको छ। यसैगरी, आर्टिफिसियल इन्टलिजेन्स नीति तर्जुमा अन्तिम चरणमा पुगेको छ।”
उहाँले यी ऐन, नियम, नीति महिलालाई केन्द्रमा राखेर तर्जुमा गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “खासगरी मन्त्रालयले यो सबै ऐन, नियम, नीति तर्जुमा गर्दै गर्दा महिलालाई केन्द्रमा राखिएको छ। यो क्षेत्रमा लगानी गर्न, अध्ययन गर्न, शिक्षा, क्षमता विकास गर्न अर्थपूर्ण सहभागिताका लागि नीति, निर्माण तहमा तथा यसको कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उद्योग व्यवसायमा महिलालाई प्राथमिकता दिइएको बताउनुभयो। सूचना, प्रविधि लगायत उद्योगको क्षेत्रमा महिलाको उपस्थिती बढाउन कुल आम्दानीका करमा छुटको व्यवस्था रहेको बताउनुभयो।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सङ्ख्यात्मक रुपमा सूचना, प्रविधि क्षेत्रमा महिला सहभागीता निकै न्युन रहेपनि गुणात्मकरुपमा महिला सहभागिता प्रेरणादायी रहेको बताउनुभयो। यस क्षेत्रमा महिला कमजोर नभएको र महिला सहभागिताका लागि आवश्यक थप सुधार गर्दै लानुपर्ने उहाँको भनाइ छ।
यसैगरी, डब्लूआईआईटीका अध्यक्ष गुणकेशरी प्रधानले समाजमा धेरै ठाउँमा महिला सहभागिता र समावेशीको कुरा भइरहँदा सूचना तथा प्रविधिको क्षेत्रमा महिलाको संख्या कम भएको बताउनुभयो।
उहाँले नेपालमा सूचना, प्रविधिको क्षेत्रमा महिला सहभागिता ०.५ प्रतिशत मात्रै रहेको जानकारी दिनुभयो।