बुटवल समाचारदाता
बुटवल, फागुन ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निराशाको खेती गर्न छाडेर आशा जगाउने काम गर्न आग्रह गर्नुभएको छ । पछिल्लो समय नेपालमा केही हुँदैन, यहाँ केही गर्न सकिँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै मन्त्री पाण्डेले नेपालले अब आफूलाई पुनर्जागृत गर्ने बेला आएको समेत बताउनुभयो ।
राष्ट्रिय परोपकार महासङ्घद्वारा बुटवल उपमहानगरपालिका–१५, सेमलारस्थित चम्कीपुरमा आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आइतबार उद्घाटन गर्दै मन्त्री पाण्डेले पूर्वीय दर्शनमा आधारित हाम्रो सभ्यता र संस्कृतिलाई पुनर्जागृत गर्नुपर्ने बेला आएको बताउनुभयो । मन्त्री पाण्डेले पूर्वीय दर्शनमा आधारित सभ्यता र संस्कारलाई छाडेर भौतिक विकासको पछि लाग्दा जलवायु परिवर्तनको असरले प्राकृतिक प्रकोप बढेको बताउँदै अब पुनः प्रकृतितर्फ फर्किनुपर्ने समयको माग रहेको उल्लेख गर्नुभयो ।
परोपकार कुञ्जधाम निर्माण गर्ने उद्देश्यले सुरु भएको महायज्ञ फागुन ११ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै धार्मिक पर्यटनका माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले बुटवलदेखि मुक्तिनाथ हुँदै कोरला नाकासम्म स्तरीय सडक बनाउन सके वर्षमा एक करोड भारतीय नागरिक मुक्तिनाथ ल्याउन सकिने सम्भावना रहेको भन्दै त्यसका लागि बुटवल उपमहानगरपालिकाले भारतीय धार्मिक अभियन्तालाई बुटवल–मुक्तिनाथ धार्मिक यात्रा गराउन लागेको जानकारी दिनुभयो ।