• ८ फागुन २०८१, बिहिबार

फोर नेसन्समा उपाधिको खडेरी तोड्ने अवसर

blog

काठमाडौँ, फागुन ५ गते  । नेपालको महिला फुटबल टिमलाई अन्तर्राष्ट्रिय उपाधिले लोभ्याएको धेरै समय भइसक्यो । अन्तर्राष्ट्रिय प्रतियोगिताको कुरा गर्ने हो भने १२ पटक फाइनलमा पुगेर पनि नेपालको महिला टिमले च्याम्पियन बन्ने सौभाग्य हासिल गर्न सकेको छैन । नेपाल महिला फुटबल टिमले सोमबार दशरथ रङ्गशालामा सुरु हुने फोर नेसन्स महिला फुटबल प्रतियोगितामा उपाधिको खडेरी तोड्ने प्रयास गर्ने छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालसहित म्यानमार, किर्गिस्तान र लेबनान सहभागी छन् । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी भइसकेको र आफ्नो टिम तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै खेलाडी तयारी अवस्थामा छन्  । देशबाहिर रहेका खेलाडीमध्ये एन्जिला (तुम्बाप्पो सुब्बा) र रेखा (पौडेल) नेपाल आइसक्नुभएको छ । साम्बा (सावित्रा भण्डारी) पनि सोमबार बिहानसम्ममा टिममा संलग्न हुनुहुने छ ।

नेपालले सोमबार आफ्नो पहिलो खेल किर्गिस्तानसँग खेल्दै छ । प्रशिक्षक तामाङले एन्जिला र रेखाले किर्गिस्तानविरुद्ध खेल्ने तर साम्बालाई आराम दिइने बताउनुभयो । प्रशिक्षक तामाङले छ वर्षअघि नेपालले किर्गिस्तानलाई सहजै हराए पनि समय फरक भइसकेको र किर्गिस्तानले पनि धेरै सुधार गरिसकेकाले विपक्षीलाई हलुका रूपमा लिएको छैन भन्नुभयो । पछिल्लो पटक नेपालले किर्गिस्तानलाई ८–२ ले हराएको थियो ।   

प्रशिक्षक तामाङले म्यानमार र लेबनान पनि राम्रो टिम हो भन्नुभयो । गत वर्ष साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा नेपालले लेबनानलाई हराएको थियो । यस प्रतियोगितामा नेपालका लागि सबभन्दा ठुलो बाधक म्यानमार हुन सक्छ । विश्व वरीयतामा पनि सहभागी चार टिममध्ये माथिल्लो स्थानमा रहेको म्यानमारविरुद्ध अहिलेसम्म तीन खेल खेल्दा नेपालले जित हात पार्न सकेको छैन ।

यद्यपि हालै महिला लिग सकिएकाले नेपाली खेलाडीहरू ‘म्याच प्राक्टिस’ सँगै फिट रहेकाले प्रशिक्षक तामाङले यसपालि आफूले प्राविधिक र रणनीतिक पक्षमा मात्र ध्यान दिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली टिम सन्तुलित पनि छ ।

यसै गरी नेपालका कप्तान एन्जिलाले यो प्रतियोगिता नेपालका लागि राम्रो अवसर भएको भनाइ राख्नुभयो । “यो हाम्रा लागि ठुलो अवसर हो । साफलगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौँ । अहिले टिम पनि एकजुट छ तर विपक्षी टिमहरू पनि बलिया छन् । अहिले जित्छौँ भनेर भन्नेभन्दा मैदानमा प्रमाणित गर्नु बेस हुन्छ । म बोलेरभन्दा पनि राम्रो नतिजासहित आफ्नो छाप छोड्न चाहन्छु,” एन्जिलाले भन्नुभयो ।

म्यानमारका प्रशिक्षक युकि तेत्सुरोले नेपाल आएर यो प्रतियोगिता खेल्न पाउँदा निकै खुसी भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफूहरू वरीयताका आधारमा अगाडि भए पनि सबै टोली कडा प्रतिद्वन्द्वी हुन् भन्नुभयो । प्रशिक्षक तेत्सुरोले विशेषतः घरेलु टिम नेपालबाट कडा चुनौती पाउने अपेक्षा गर्नुभएको छ । म्यान्मारकी कप्तान खिन मारलार टुनले पनि आफ्नो टिमको तयारी राम्रो भएको र प्रतियोगितामा सहभागिता जनाउन पाएकोमा खुसी भएको बताउनुभयो ।

लेबनानका प्रशिक्षक वाइल घारजेडिनले नेपालको मैदानमा नेपाली दर्शकमाझ खेल्न आफ्नो टिमलाई चुनौतीपूर्ण हुने तर सोही वातावरणमा रमेर खेल्ने छौँ भन्नुभयो । लेबनानकी कप्तान नाथाली माटरले पनि नेपाललाई बलियो मान्दै आफ्नो टिमले राम्रो खेल्ने बताउनुभयो ।

यसै गरी किर्गिस्तानका प्रशिक्षक र कप्तानले पनि यस प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको र राम्रो प्रदर्शन गर्ने बताउनुभयो । 

एएफसी महिला एसियन कप र फिफा विश्वकपलक्षित प्रतियोगिता फागुन १४ सम्म हुने छ । नेपालले फागुन ८ मा लेबनान र फागन ११ मा म्यान्मारको सामना गर्ने छ ।   

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।