गोकर्ण दयाल
बैतडी, फागुन ५ गते ।
‘हुने गाउँ हिङ्लो
नहुने गाउँ चुच्चाइँ’
यो प्रचलित किंवदन्तीले सभ्य गाउँठाउँमा हिङ्लो हुने कुरा दर्साउँछ । यस्तै सभ्यताको प्रतीकका रूपमा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरको हिङ्लो (पिङ) फेर्ने काम पूरा भएको छ । मन्दिरको हिङ्लो जीर्ण बनेपछि सालको नयाँ काठमा फलामको साङ्लो राखेर हिङ्लो फेरिएको हो ।
१४ औँ शताब्दीतिर स्थापना भएको भगवती मन्दिर परिसरमा हिङ्लो रहने परम्परा छ । दशरथ चन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरीको हिङ्लोको सालको काठ जीर्ण बनेपछि दार्चुलाको उकुबाट नयाँ काठ ल्याएर हिङ्लो फेरिएको मन्दिर सेवा समितिका अध्यक्ष गणेश थापाले बताउनुभयो ।
उहाँले स्थानीय रीतिरिवाज र परम्परा अनुसार हिङ्लोमा झुन्ड्याइने फलामको साङ्लोमा एक अँकुडो थपेर हिङ्लो फेरिएको बताउनुभयो । हिङ्लो फेर्दा साङ्लोको फलाममा एक अँकुडो थप्ने परम्परा रहेकाले नौ इन्च उचाइ बढेको छ ।
हिङ्लोमा प्रयोग भएको पुरानो साङ्लो स्थानीय आरनमै तयार गरिएको भए पनि नयाँ थपिएको भागमा बजारमा पाइने साङ्लो प्रयोग गरिएको छ । स्थानीय फलामखानी बन्द भएकाले बजारमा पाइने कम्पनीले बनाएको साङ्लोको एक भाग काटेर पुरानो साङ्लोमा थप्नुपर्ने बाध्यता सिर्जना भएको मन्दिर सेवा समितिका अध्यक्ष थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बैतडीको पुर्चौडी र मेलौलीको महारुद्रमा रहेको खानीबाट फलाम उत्खनन गर्ने जनशक्ति भेटिएन । फलाम खोजेर आरनमा साङ्लो तयार गर्ने कालिगड पनि छैनन् । परम्परागत आरन बन्द भएकाले विकल्पमा बजारमा पाइने साङ्लो प्रयोग गर्न बाध्य भयौँ ।”
हिङ्लोमा प्रयोग हुने सालको काठलाई भने स्थानीय कालिगडले बाँसुलो, रन्दा जस्ता घरेलु औजार प्रयोग गरेर तयार गरेको ८४ वर्षीय कालिगड शेरीराम टमटाले बताउनुभयो । उहाँले यसपालिसमेत गरी आफूले चौथो पटक हिङ्लो फेरिएको देख्न पाएको बताउनुभयो । नयाँ फेरिएको हिङ्लोको उचाइ ४३ फिट तीन इन्च बन्न पुगेको छ । हिङ्लोको फेदलाई छ फिट गहिरो जमिनमा गाडिएको छ । यसअघिको हिङ्लोको उचाइ ४२ फिट थियो । हिङ्लो फेर्न करिब तीन लाख रुपियाँ खर्च भएको बताइएको छ । मन्दिरमा जम्मा भएको कोषबाट रकम खर्च गरिएको हो ।
हिङ्लोमा भगवतीले राति पिङ खेल्ने गरेको जनविश्वास छ । यद्यपि चैत्राष्टमी र असोजको दसैँका बेला मन्दिरमा लाग्ने जात्रामा बालबालिका र सर्वसाधारणले समेत पिङ खेल्ने गर्छन् । मन्दिर परिसरमा रहने हिङ्लोलाई दसैँमा रङ्गरोगन गर्ने परम्परा छ । सुदूरपश्चिमका सात भगवतीमध्ये बैतडीमा त्रिपुरासुन्दरी, निङ्लासैनी, मेलौली, डिलासैनी, कफलासैनी गरी पाँच मन्दिर रहेका छन् । थप दुई वटा भगवतीका मन्दिर उग्रतारा, डडेलधुरा र शैलेश्वरी डोटीमा पनि हिङ्लो रहेको छ ।