काठमाडौं, फागुन १ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा शिक्षामन्त्री भट्टराईले हाल समकक्षताका विषयमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने, यसका लागि विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्ने बताउनुभयो।
मन्त्री भट्टराईले नेपालको शिक्षाक्षेत्रमा सहयोग गर्ने तत्परताका साथै शिष्टाचार भेटका लागि राजदूतको टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो। भेटमा राजदूत फेनले नेपालको शिक्षाक्षेत्रमा बेलायत सरकारको तर्फबाट गर्न सकिने सहयोग, बेलायतमा अध्ययन गरी नेपाल फर्किएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्ने व्यवस्था र यसमा देखिएका जटिलताबारेमा चासो व्यक्त गर्नुभयो।
नेपालको उत्पादनशील जनशक्तिलाई स्वदेशमा नै गुणस्तरीय शिक्षा प्रदान गरी रोजगारमूलक बनाउने, नेपालको अर्थतन्त्रमा डायस्पोरालाई जोड्ने विषयमा सहयोग गर्न सकिनेलगायतका विषयमा उहाँले आफ्नो विचार राख्नुभयो। भेटमा ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर रष्टम मोडीसहित अन्य कूटनैतिक व्यक्तित्वहरूको उपस्थिति थियो।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                            -(1)-square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                