• १३ साउन २०८१, आइतबार

मतदानपछि रोजगारी खोज्न भारततर्फ

blog

नेपालगन्ज समाचारदाता 

नेपालगञ्ज, जेठ १५ गते । स्थानीय तह निर्वाचनमा मतदान गर्न स्वदेश फर्किएकाहरू निर्वाचन सकिएलगत्तै रोजगारीका लागि पुनः भारत फर्किन थालेका छन् । नेपाल–भारत जमुनाहा नाकामा रोजगारीका लागि भारततिर जाने नेपालीको अत्यधिक भीड लागेको छ । 

मतदानमा सहभागी हुन स्वदेश फर्किएकाहरू फेरि रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा जान लागेकाले नाकामा दैनिकजसो भीड देखिएको जमुनाहा नाका प्रहरीले जनाएको छ । वैशाख ३० गतेअघि नाकामा देखिएको भीड अहिले फेरि जाँदा देखिन थालेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले बताउनुभयो । 

उहाँले अहिले दैनिक १२ सयदेखि १५ सयसम्म रोजगारीका लागि फेरि भारतका विभिन्न सहरमा फर्किरहेको बताउनुभयो । ती सबै नेपाली स्थानीय तहको निर्वाचनमा आफूले रोजेको व्यक्तिलाई निर्वाचित गर्न नेपाल आएका हुन् । नेपालगञ्ज नाका भएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका युवा भारतका विभिन्न सहरमा कामका लागि जाने गर्छन् ।  

कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यानका युवा यही नाकाबाट भारत जाने र फर्किने गर्छन् । उहाँहरू भारतको सिमला, हरिद्वार, प्रयागराज, अमृतसर, चण्डीगढ, जयपुर र अहमदावादलगायतका सहरमा रोजगारीका लागि फर्किरहेको पाइएको छ ।