चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ३० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको छ । बुधबार सम्पन्न १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २५ स्वर्ण, १८ रजत र १८ कास्य पदकमा जित निकाल्दै मैवाखोला प्रथम भएको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता मैवाखोला गाउँपालिकामै सञ्चालन भएको थियो । आफ्नौ क्षेत्रमा आयोजित प्रतियोगिताको संयोजन तथा व्यवस्थापकीय भूमिका निर्वाह गरेको मैवाखोला गाउँपालिकाले अन्य आठ स्थानीय तहलाई पछि पार्दै प्रथम नतिजा निकालेको हो ।
प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ । आठराई त्रिवेणीले २० स्वर्ण, २० रजत र १९ वटा कास्य पदक जितेको छ । यस्तै १७ स्वर्ण, १५ रजत र १५ कास्य जित्दै फुङ्लिङ नगरपालिका तृतीय बनेको छ । दुई स्वर्ण, दुई रजत र दुई कास्य पदमा जित निकाल्दै मेरिङ्देन गाउँपालिका चौथो भएको छ ।
पाथीभरा याङ्वरक गाउँपालिका एक स्वर्ण, पाँच रजत र एक कास्य पदकसहित पाँचौँ भएको छ भने छैटौं स्थान बनाएको मिक्वाखोला गाउँपालिकाले एक स्वर्ण, तीन रजत र २६ वटा कास्य पदक जितेको छ । सिदिङ्वा गाउँपालिकाले दुई रजत र सातवटा कास्य पदक जितेर सातौं बनेको छ ।
फक्ताङ्लुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिका भने पदक विहीन बनेका छन् । पदक जित्न सफल खेलाडीलाई कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम, गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू लगायतले ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
आइतबार सुरु भएको प्रतियोगिताको उद्घाटन भने कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको साँघुस्थित नारायणी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको थियो ।