• १ फागुन २०८१, बिहिबार

बेसीसहरमै जटिल शल्यक्रिया सम्भव

blog

शल्यक्रिया गर्दै प्रदेश अस्पताल लमजुङका चिकित्सक टोली । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, माघ ३० गते ।
गतहप्ता एक युवा पेट दुखेर बेंसीसहरस्थित प्रदेश अस्पतालमा भर्ना हुनुभयो । आकस्मिक कक्षमा भर्ना हुनुभएका २९ वर्षे युवाको विभिन्न जाँच गर्दा अल्सर भई सानो आन्द्रा फुटेको पत्ता लाग्यो । अनि तत्काल अस्पतालमा उपलब्ध चिकित्सकहरुले शल्यक्रिया सुरु गर्नुभयो र सफल पार्नुभयो ।

“यो दिनपछि हामी निकै उत्साहित छौं । यस्तो जटिल शल्यक्रिया पनि सफल बनाउन सक्यौं”, अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले भन्नुभयो, “अब जटिल अवस्थाको शल्यक्रियाहरु प्रदेश अस्पताल बेसीसहरमै गर्न सक्ने भयौं ।”

देवकोटाका अनुसार फुटेको सानो आन्द्राको शल्यक्रिया गर्न चिकित्सक र नर्सगरी आठजना खटिनुभएको थियो । 

कन्सल्टेन्ट जनरल सर्जन डा. शिशिर देवकोटा, डा. नारायण प्रकाश शर्मा, डा. विवेक पौडेल क्षत्री, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. शिशिर खड्का, मेडिकल अफिसर डा. अम्बिका दवाडी, एनेस्थेसिया असिस्टेन्ट रामकृष्ण खत्री, नर्सिङ स्टाफ शोभा श्रेष्ठ र करुणा रेग्मीको टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको थियो ।

अस्पतालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म प्रदेश अस्पताल बेंसीसहरमा ठुला–साना गरेर पाँच सय ३५ वटा शल्यक्रिया सफल भइसकेको छ । यो अवधिमा सिजेरियन सेक्सन (सिएस) एकसय ३७ वटा, गाइनोसम्बन्धी ६६ वटा, हाडजोर्नीसम्बन्धी ९७ वटा र जनरल सर्जरी दुई सय ३५ वटाको शल्यक्रिया भएको छ ।

यसैगरी, एपेन्डिसको शल्यक्रिया १५ वटा, हाइड्रोसिलको १७ वटा, हर्नियाको १९ वटा, पाठेघरको २७ वटा र इन्डोस्कपी शल्यक्रिया ३७ वटा गरिएको अस्पताल प्रमुख देवकोटाले जानकारी दिनुभयो । 

अस्पतालमा पहिलो पटक पिसाब थैली, नली, प्रोस्टेटको जाँचको सुरुवात पनि भएको छ । यस्तै नियमित भिडियो एक्स–रे तथा रेडियोलोजी सेवा सञ्चालन गरिएपछि जिल्लावासीलाई सुविधा थपिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले जानकारी दिनुभयो । अस्पतालमा हाल दैनिक तीन सयको हाराहारीमा बिरामीहरुले सेवा लिइरहेका छन् ।