• १७ असार २०८२, मङ्गलबार

पन्ध्र वर्षपछि सुधराम घर फिर्ता

blog

टीकापुर समाचारदाता

टीकापुर, माघ ३० गते । सूर्य अस्ताउनै लागेको थियो, टीकापुर नगरपालिका–२, विजयनगरस्थित सिमेन्टको ब्लक, टिनले छाएको घरको आँगनमा एउटा गाडी रोकियो । गाडीबाट एक वृद्ध झरे । १५ वर्षअघि हराएको व्यक्ति आफ्नो घर फर्किंदाको दृश्य हो यो । ७२ वर्षका वृद्ध विश्राम चौधरी आफ्नो कान्छो छोरा सुधराम हराएको १५ वर्षपछि घर फर्किंदा केहीबेर खुसी मिश्रित आँसुमा डुब्नुभयो, सुधरामका दाजुहरू रामकृष्ण, बुधराम पनि हर्षित देखिनुहुन्थ्यो र भाउजूहरू उत्सुक भएर हेरिरहनुभएको थियो ।

केहीबेरको सन्नाटापछि छिमेकीले सोधे, “यत्रो समय कहाँ हराएको थिइस् ?” दाजु रामकृष्णले पनि यस्तै भावमा सोध्नुभयो । सुधरामले गुनासोमिश्रित स्वरमा झर्केर भन्नुभयो, “म हराएपछि राम्ररी खाजेनौ, माइलो दाइ (बालकृष्ण) ले पनि घात ग¥यो अनि कसरी घर आउनु ?”

सुधराम १७ वर्षअघि माइलो दाजु बालकृष्णसँगै काम गर्न भनेर काठमाडौँ जानुभएको थियो । दुई वर्ष दाजुसँगै काम गरेपछि सुधराम हराउनुभयो । जेठो दाजु रामकृष्णले सम्झाउनुभयो, “बालकृष्णले पनि धेरै खोज्यो, मैले पनि काठमाडौँ गएर बानेश्वर, अनामनगर, दरबारमार्ग क्षेत्रमा धेरै खोजेँ । लिएको खर्च सकियो, नभेटेपछि निराश भएर घर फर्कें ।” बालकृष्ण अहिले रोजगारीका लागि भारतमा हुनुहुन्छ ।

नुवाकोटमा नौ वर्ष विसं २०७२ सम्म काठमाडौँमा रुमल्लिरहेका सुधराम अनामनगरमा नुवाकोटका रवीन थपलियालाई भेटेपछि नुवाकोटतिर लाग्नुभएको थियो । “भूकम्पपछि अनामनगरमा अफिस सार्दा मजदुरका रूपमा सुधराम भेटिनुभयो । अफिसको सामान सारेपछि अर्कैले पैसा मलाई दिनु भन्यो, के रहेछ भनेर खोज्दा सुधराम परिवारबाट बिछोडिएको थाहा भयो,”  रवीन भन्नुहुन्छ, “सुधरामलाई घर फर्काउन काठमाडौँमा भनेका जति मानिस खोज्दा पनि भूकम्पले तहसनहस भएका बेला चिन्ने कोही भेटिएन र नुवाकोटको शिवपुरी गाउँपालिका थानापतिमा राजन थपलियाको घरमा बस्ने व्यवस्था मिलाइयो । थपलियाको घरमा सदस्य सरह नै बसेका सुधरामले ट्याक्टर चलाउने, खेत जोत्ने काम गरिरहेको बताउनुभयो ।