• १५ असार २०८१, शनिबार

महिनावारी स्वच्छता दिवसमा सचेतना मुलक कार्यक्रम

blog

जयकृष्ण यादव
इनरुवा, जेठ १४ गते ।
सुनसरीमा महिनावारी स्वच्छता दिवसको अवसरमा विभिन्न सचेतना मुलक कार्यक्रम भएको छ । जिल्लाको सदरमुकाम इनरुवामा साझेदारी नेपालले विभिन्न स्थानमा महिनावारी स्वच्छतासम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले हाजिरीजवाफ, अन्तरक्रिया र फोटो प्रदर्शनी सम्पन्न गरेको हो । विजयी प्रतियोगीहरुलाई संस्थाका अध्यक्ष सोनीकुमारी यादवले ट्रफी तथा प्रमाणपत्रसहित पहिलो हुनेलाई प्याड राख्न प्रयोग गरिने बाकस र दोस्रो तथा तेस्रो हुनेलाई प्रयोग गरिएका प्याड राख्ने डस्बिन प्रदान गर्नुभयो ।

यसैगरी, गढी गाउँपालिका वडा नम्बर ३ र ४ का महिनावारी स्वच्छता दिवस २०७९ नवनिर्वाचित गाउँपालिका उपाध्यक्ष अनिता साह र निवर्तमान उपाध्यक्ष राजकुमारी चौधरीले संयुक्त रुपमा किसोरी तथा महिलाहरुलाई सरसफाई र स्वच्छताको बारेमा प्रशिक्षण दिनुभएको छ ।

यसैगरी, गढीमा नै महिनावारी स्वच्छतासम्बन्धी वकतृत्वकला प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको गढी ३ का वडा अध्यक्ष कुशेश्वर यादवले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा सिएसपडसी नामक संस्थाले पनि विभिन्न स्थानमा महिनावारी स्वच्छतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन सुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो ।

महिनावारी स्वच्छताका लागि चेतनास्तर उन्नति गर्ने विषय महत्वपूर्ण रहेको सरोकारबालाहरुले बताएका छन् । ‘‘महिनावारीका विषयमा बोल्ने र घरपरिवारमा छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्छ,’’ गढी ३ का सचिव सत्रुघन श्रेष्ठले भन्नुभयो, ‘‘कानुन सुधारेर मात्रै पर्याप्त सुधार ल्याउन सकिँदैन, यसमा व्यवहारिक कार्यान्वयन पनि आवश्यक छ ।’’

सरकारी तथ्याङ्क अनुसार नेपालमा महिनावारी हुने किशोरीमध्ये १५ प्रतिशतले मात्रै स्यानिटरी प्याड प्रयोग गर्छन् । विद्यालय पढ्ने किशोरीलाई महिनावारी रगत र स्वच्छता व्यवस्थापनको विषय जटिल बन्ने गरेको सरोकारबालाको भनाइ छ । विद्यालयमा महिलामैत्री शौचालय नहुँदा समेत समस्या भएको गढीमा आयोजित कार्यक्रममा सहभागी पींकी साहले बताउनुभयो । महिनावारी स्वच्छताका विषयलाई छलफलमा मात्रै सीमित नराखेर कार्यान्वयन गर्नुपर्नेमा साहले जोड दिनुभयो । जननिर्वाचित नेतृत्वको घरमा महिनावारी छुवाछुत अन्त्यका लागि पहल गर्नुपर्ने गढी ४ का निवर्तमान वडा अध्यक्ष रामचन्द्र महतोले बताउनुभयो । हरेक गाउँमा रहेका महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक कार्यकर्तालाई समेत परिचालन गरेर महिनावारीबारे चेतनास्तर बढाउनुपर्ने मेहताको भनाई थियो ।