• ६ जेठ २०८१, आइतबार

अध्ययनमा सहजताका लागि छात्रालाई साइकल

blog

नारद कोहार
तौलिहवा, जेठ १४ ।
कपिलवस्तुको मायादेवी गाँउपालिकाअन्तर्गत कक्षा ८ का छात्राहरुलाई अध्ययनमा सहजताका लागि साइकल वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कक्षा ८ का ५२ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

मुनेश्वर माध्यमिक विद्यालय बहरवासी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भैसकुण्डा र जनता आधारभूत विद्यालय मनखोरियामा कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई सो साइकल वितरण गरिएको गाँउपालिका अध्यक्ष वालिउद्धिन मुसलमानले बताउनुभयो ।

उहाँले विद्यालयमा टाढाटाढाबाट विद्यालय आउने छात्राहरुलाई अध्ययनमा धेरै सहज हुने र शिक्षाको गुणस्तर सुधारमा मद्दत पुग्ने उद्देश्यले साइकाल वितरण गरिएको बताउनुभयो ।

छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत आरक्षणको व्यवस्थामा जोड दिन साइकल वितरण गरिएको गाँउपालिकाकी उपाध्यक्ष सरस्वती यादवले बताउनुभयो । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ आफूहरु अघि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक, गाँउपालिकाका कार्मचारी, विद्यार्थी वडानं. ३ कावडाध्यक्ष शैलेन्द्र कुमार यादवलगायतको सहभागिता रहेको थियो ।