काठमाडौँ, माघ १९ गते । नेकपा (एमाले) सचिव एवम् रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले नम्बरको खेलले प्रभावकारी नभएको संसद् प्रमुख दुई दल मिलेपछि स्थिरताको बाटोमा अगाडि बढेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको 'सांसदलाई सवाल'मा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । ‘‘जनताको जनादेशले केही दललाई मात्र आरामदायी बहुमत दिएन । त्यो अवस्थामा जादुयी नम्बरले काम गर्न थाल्यो । जसले गर्दा संसद् प्रभावकारी भएन । सत्ता केन्द्रित हुने परिस्थिति बन्दा केन्द्रको सत्ताले प्रदेशलाई प्रभावित पार्ने अवस्था बन्यो । अहिले स्थिरताको सुनिश्चितता देखिएको छ । हामीले अपेक्षा गरौँ यो कार्यकाल स्थिरताका साथ अगाडि बढ्छ ।’’
पूर्वमन्त्री विश्वकर्माले सामाजिक आन्दोलन, खेलकुदसँगै राजनीतिमा लामो समयदेखि विशेष योगदान दिनुभएको छ । उहाँको जन्म वि.सं. २०१९ मङ्सिर २३ गते स्याङजाको साविक कृष्णगण्डकी गाविस- १ मा (हाल कालीगण्डकी गाउँपालिका–१) बुवा चन्द्रबहादुर र आमा गङ्गाजमुनाको कोखमा भएको हो । उहाँको स्थायी ठेगाना रूपन्देहीको देवदह नगरपालिका ९ घोडाहा हो । उपत्यकामा हुँदा उहाँ ललितपुरमा अस्थायी बसोवास गर्नुहुन्छ । स्याङजाबाट विद्यालय तहको औपचारिक शिक्षा आरम्भ गर्नुभएका विश्वकर्माले रूपन्देही गणेश जनता मावि, बुटवल बहुमुखी क्याम्पस हुँदै भारतको पञ्जाबस्थित पटियाला त्रिणासंस्थानबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।
उहाँसँग विद्यार्थी गतिविधि, पार्टी राजनीति, दलित मुक्ति आन्दोलन, खेलकुद, प्रवासी नेपालीसँग नजिक भएर काम गरेको अनुभव छ । उहाँ भलिबलको राष्ट्रिय खेलाडी, प्रशिक्षक हुँदै खेलकुद परिषद् सदस्यसमेत बन्नुभयो । धेरैले उहाँलाई खेल क्षेत्रमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकका रूपमा चिन्ने गरेका छन् ।
सामाजिक कार्य, दलित आन्दोलन र नेकपा (माले)बाट सङ्गठित हुँदै उहाँ राजनीतिमा होमिनुभएको हो । उहाँ २०३५ सालमा ग्रामीण जनसेवा विकास समिति स्याङजाको संस्थापक सदस्य बनेर सामाजिक क्षेत्रमा सक्रिय हुनुभएको हो । २०३७ सालमा दलित आन्दोलनलाई अगाडि बढाउन उहाँ नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, स्याङ्जाको संस्थापक सदस्यता बन्नुभयो । २०३८/३९ सालमा बुटवल बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति बनेपछि राजनीतितर्फ उहाँको आकर्षण बढेको देखिन्छ ।
जातीय आन्दोलनसँगै राजनीतिमा सक्रिय छविलाल २०४५ सालमा मालेको भ्रातृ सङ्गठन जातीय उत्थान मञ्च । २०४६ सालमा आइपुग्दा उहाँले उत्पीडित जनजातीय मुक्ति मोर्चाको सहसंयोजक बनेर काम गर्नुभयो । २०४७ सालमा उत्पीडित जातीय उत्थान मञ्चको केन्द्रीय कमिटी उपाध्यक्ष, २०५१ नेकपा (एमाले) राष्ट्रिय परिषद् सदस्य बन्नुभएका विश्वकर्मा सोही वर्ष नेपाल राष्ट्रिय दलित मुक्ति समाज केन्द्रीय समितिको महासचिव बन्नुभयो । २०५५ सालमा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय समिति अध्यक्षको जिम्मेवारी पाउनुभएका उहाँ सोही वर्ष नेकपा (एमाले)को केन्द्रीय परिषद् सदस्य बन्नुभयो । २०५९ सालमा सम्पन्न एमालेको सातौं महाधिवेशनबाट केन्द्रीय कमिटी वैकल्पिक सदस्य बन्नुभएका विश्वकर्मा २०६५ को आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभयो । एमालेको केन्द्रीय सदस्य, स्थायी कमिटी, पोलिटब्यूरो सदस्य बन्नुभएका उहाँ चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट पार्टी सचिव निर्वाचित हुनुभएको हो । साविकका लुम्बिनी अञ्चल इन्चार्ज उहाँसँग एमाले लुम्बिनी प्रदेश संयोजक भएर काम गरेको अनुभवसमेत छ । विश्वकर्माले एमालेको भारत प्रवास इन्चार्ज बनेर लामो समय काम गर्नुभयो । अहिले उहाँ एमालेको स्थानीय विकास विभाग प्रमुख हुनुहुन्छ।
२०६२/६३ सालको आन्दोलनपछि उहाँलाई पार्टीले तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्रीका रूपमा पठायो । छोटो समय मन्त्री बनेर उहाँले जनताको मन जित्ने प्रयास गर्नुभयो। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा एमालेले विश्वकर्मालाई समानुपातिक तर्फबाट सभासद् बनायो । दोस्रो संविधानसभा निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका अब्दुल रज्जाकसँग झिनो मतान्तरले पराजित विश्वकर्मा २०७४ र २०७९ सालको आम निर्वाचनमा रूपन्देही १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो ।
प्रस्तुत छ – रुपन्देही १ का प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री एवम् नेकपा (एमाले) सचिव छविलाल विश्वकर्मासँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्रीः