• १९ माघ २०८१, शनिबार

वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म

blog

तस्बिर : रासस

रामपुर (पाल्पा), माघ १९ गते । स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ । पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ । वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । 

तर पाल्पाको रामपुर नगरपालिका-५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि व्यवसाय गर्दैआउनुभएको छ । वडाध्यक्ष पोखरेलले भन्नुभयो, “वडाका काममा मात्र नभई कृषि व्यवसाय, सामाजिक कार्यलाई उत्तिकै सक्रियताका साथ गर्दैआएको छु ।” व्यस्त समयका बाबजुद पनि उहाँको कृषि कार्यप्रतिको लगाव र मेहनत लोभलाग्दो छ । उहाँ वडाको जिम्मेवारी कुशलतापूर्वक निभाउँदै कृषि कार्यमा तल्लिन हुनुहुन्छ ।

वडाध्यक्ष पोखरेल वडाका काम बाहेकको समय घरमा कृषि कर्म गर्नमै खटिनुहुन्छ । “वडा तहबाट गर्ने काम सकिएपछि साँझ बिहानको समयमा तरकारी, अन्नबाली लगाउने, गोडमेल गर्ने, भैँसीको हेरचाह गर्नेलगायत काममा समय बिताउँछु”, उहाँले भन्नुभयो, “यसरी काम गर्दा समय बितेको पत्तो हुँदैन ।” रामपुर–५ मटेरीमा वडाध्यक्ष पोखरेलले कृषि कर्म गरेर आफ्नो जग्गा हरियाली बनाउनुभएको छ । 

करिब १५ रोपनी जग्गामा तरकारी, अन्नबाली उत्पादन गरी उहाँले बिक्री गर्दैआउनुभएको छ । हाल साढे पाँच रोपनी जग्गामा तरकारी खेती गरिएको छ । त्यसमध्ये साढे तीन रोपनीमा काउली, बन्दा, मुला, धनियाँ, साग छन् भने दुई रोपनीमा आलु खेती गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । काउली र बन्दागोभी बिक्री भइरहेको छ । उहाँ अब काँक्रो, भिण्डी, करेला, लौका, खुर्सानी, सिमीलगायत लहरेबाली जातका तरकारी लगाउने तयारीमा हुनुहुन्छ । 

त्यसका लागि कार्यालय समय सकिएपछि सो कर्ममा खटिने गरेको वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले करिब एक दशकदेखि तरकारी खेती गर्न थाल्नुभएको हो । पहिला घरमा सिजनका तरकारी लगाउनुहुन्थ्यो भने बिगत पाँच वर्षदेखि यहाँको बजार बढ्दै जान थालेपछि व्यावसायिक हिसाबले उत्पादनमा जोड दिनुभयो । तरकारी, अन्नबाली, भैँसीपालनबाट वार्षिक रूपमा सरदरमा रु सातदेखि आठ लाख आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । 

“तरकारी खेती मात्र नभई धान, मकै, गहुँ, तोरी जस्ता अन्नबाली लगाउने, भैँसीपालनलाई जोड दिएको छु, सबै क्षेत्रबाट आम्दानी भइरहेको छ, वडाको काम सकिएपछि घरको काममा समय खर्चेको छु, फुर्सदको समय छैन, वडाका विभिन्न काम तथा योजनामा कहिलेकाही विवाद पनि हुन्छन्, सबैलाई मिलाएर काम गरिरहेको छु, घरको आयआर्जनका लागि कृषि पेसालाई निरन्तरता दिनुपर्यो”, वडाध्यक्ष पोखरेलले भन्नुभयो ।

दैनिक बिहान ४ बजे उठेर पशुको आहार व्यवस्थापन, तरकारीको रेखदेख, सिँचाइ जस्ता काम सकेर कार्यालय तथा सामाजिक काममा निस्कनुहुन्छ । यसरी निरन्तर रूपमा उहाँको दैनिकी बितिरहेको छ । कार्यालय बिदा तथा शनिबारको दिन समय मिलाएर तरकारी लगाउने, थाक्रा दिने, खेतबारी खनजोत जस्ता कार्यमा उहाँलाई भ्याइनभ्याई हुन्छ ।

वडाध्यक्ष पोखरेल भन्नुहुन्छ, “दैनिक कार्यतालिका बनाएर भोलिपल्ट गर्ने काम अघिल्लो दिन नै तय गरेको हुन्छु, समय अनावश्यक ठाउँमा बिताएको छैन, बिहान सबेरै उठ्ने आफ्नो घरको काम सक्ने अनि वडा तथा सामाजिक कार्यमा निस्कने गरेको छु ।” वडाध्यक्ष पोखरेललाई यस व्यवसायमा श्रीमती भगवतीले साथ दिँदै आउनुभएको छ । वडा तथा सामाजिक कार्यमा व्यस्त रहँदा खेतीबाली, पशुको रेखदेख, संरक्षण भगवतीले सम्हाल्नुहुन्छ । सिँचाइका लागि निजी इनार निर्माण गरी व्यवस्थापन भइरहेको छ । 

स्थानीय बजारमा नै तरकारी खपत हुँदा बिक्रीका लागि झण्झट छैन । उहाँले कृषिबाटै दुई छोराछोरीलाई काठमाडौँमा राखेर उच्च शिक्षा दिलाउनुभएको छ । आफूले कृषि कर्म गरेर दुःखसँग पढाएको छोरा सरकारी सेवामा कार्यरत भएको देख्न पाउँदा उहाँलाई कृषि पेसाप्रति झन् मोह बढेको छ । 

नगरकै केन्द्र भाग, बजार क्षेत्र, सरकारी तथा सामुदायिक सङ्घ संस्था, बैंक तथा वित्तीय कार्यालय, ठुलो जनघनत्व यही वडामै छ । रामपुरका १० वटा वडामध्ये धेरै जनसङ्ख्या बसोवास गर्ने, बजार क्षेत्र रहेकाले वडाका काम सम्हाल्न अन्यत्र वडामा जस्तो सहज छैन । सानैदेखि कृषि पेसामा आबद्ध वडाध्यक्ष पोखरेलको यो कार्य उदाहरणीय बनेको छ । रासस