• १३ साउन २०८१, आइतबार

कपासको मूल्य वृद्धि

blog

सिराज खान 

नेपालगञ्ज, जेठ १३ गते ।  कपास विकास समिति खजुराले कपासको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । 

समितिका अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले समितिले खरिद गर्ने कपासको मूल्य प्रतिक्विन्टल एक हजार रुपियाँ वृद्धि गर्ने निर्णय गरेको हो । 

समितिका कार्यकारी प्रमुख बुद्धबहादुर थापाका अनुसार कपास खेती विस्तार र उत्पादन बढाउन मूल्य वृद्धि गरिएको हो । प्रतिक्विन्टल आठ हजार पाँच सय रुपियाँमा किसानबाट कपास खरिद गरिरहेको समितिले अबदेखि नौ हजार पाँच सय रुपियाँमा दानासहितको कपास खरिद गर्ने समितिका अध्यक्ष हेमन्तराज काफ्लेले बताउनुभयो । 

केही वर्षअघिसम्म कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका धेरै किसानले कपास खेती गर्थे तर बिक्री घट्दै गएपछि र उचित मूल्य नपाएपछि किसान कपास खेती गर्न छोडेका छन् । यसले गर्दा कपास खेती गरिने क्षेत्रफल र उत्पादन घट्दै आएको छ । हाल दाङ जिल्लाको ९० बिघामा मात्र कपास खेती सीमित भएको छ । दाङको लमहीको वडा नं. ७, ८ र ९ तथा राजपुरको वडा नं. १, २, ३, ५, ६ र ७ मा कपास खेती गरिन्छ ।