शशिधर पराजुली
विराटनगर, माघ १३ गते । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको बताउनुभएको छ । विराटनगरमा शनिबारदेखि सुरु भएको ‘विराट एक्स्पो २०२५’ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रले लय समातेका कारण मुलुकको समग्र अर्थतन्त्रमा सुधार आएको बताउनुभयो । उद्योग सङ्गठन मोरङले आयोजना गरेको एक्स्पोमा अर्थमन्त्री पौडेलले भन्नुभयो, “दिगो र बलियो सरकार बनेकै कारण अर्थतन्त्रमा सुधार ल्याउन सफल भइएको हो । अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्षेत्रका समस्यालाई समाधान गर्न सरकारले विभिन्न नीतिगत सुधारको काम गरिरहेको छ ।”
उत्पादन, रोजगारी, बैङ्कको तरलता व्यवस्थापन, ब्याजदर, वैदेशिक मुद्रा सञ्चिति जस्ता सबै आर्थिक परिसूचकमा सकारात्मक नतिजा हासिल भइरहेको उहाँको भनाइ थियो । अर्थतन्त्रमा अझै पनि केही समस्या रहेको भन्दै उहाँले ती समस्या समाधानका लागि प्रधानमन्त्री र सिङ्गो सरकार प्रयत्नशील रहेको र त्यसका लागि आवश्यक कदम चालिरहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकार बनेपछि मात्र देशको अर्थतन्त्रमा सुधार आउन थालेको भन्दै अघिल्लो सरकारबाट परिणाम आउने नदेखेर नै दुई ठुला दलहरू मिलेर सरकार बनाउने निर्णयमा पुगेको बताउनुभयो । सरकारले सातै प्रदेशमा हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण गरिरहेको जानकारी दिँदै उहाँले मोरङमा पनि औद्योगिक क्षेत्र निर्माण हुने भन्दै जग्गा खोज्न निजी क्षेत्रसँग समन्वय गर्ने बताउनुभयो । साथै मन्त्री पौडेलले प्रदर्शनी स्थल निर्माणमा पनि सरकारले सहयोग गर्ने वाचा गर्नुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुल्जार बनाउन सरकारले आवश्यक नीति बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा उद्योग सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव रहेकाले विदेशी लगानी भित्रिन छाडेकामा चिन्ता व्यक्त गर्नुभयो ।